नेयमार प्राविधिक रूपमा विश्वकै अब्बल खेलाडी

एजेन्सी, १२ चैत । ब्राजिलियन लिजेन्ड काफुले नेयमार प्राविधिक रूपमा विश्वकै अब्बल खेलाडी रहेको बताएका छन् ।

‘फक्स स्पोर्ट्स ब्राजिललाई’ स्काइपमार्फत् दिएको अन्तर्वार्ताको क्रममा काफुले आफ्नो देशका स्टार नेयमार प्राविधिक रूपमा विश्वकै अब्बल भएको बताएका हुन् ।

दुई पटकका विश्वकप विजेता काफुले नेयमार अर्जेन्टिनाका लियोनल मेस्सीभन्दा पनि अब्बल रहेको बताएका छन् ।

कोरोना भाइरसका कारण स्काइपमार्फत् भिडियो अन्तर्वार्ता दिँदै काफुले भने, ‘आजको दिनमा प्राविधिक रूपमा कुनै खेलाडी अब्बल छन् भने ती नेयमार हुन् ।’

उनले थपे, ‘अरु कोही पनि नेयमार जस्तो अब्बल छैनन्, मेस्सी पनि । नेयमारको म ठूलो फ्यान हुँ ।’

‘नेयमारले फुटबल खेलेको विश्वले हेर्न चाहन्छ’, उनले भने, ‘उनी फुटबल खेल्नकै लागि जन्मिएका हुन् । नेयमार ब्राजिलको टोलीका महत्त्वपूर्ण खेलाडी हुन् । जब उनले राम्रो गर्छन्, ब्राजिलले पनि राम्रो गर्छ ।’

यसैगरी ४९ वर्षीय काफुले नेयमार विश्वकै महंगो खेलाडी भएको पनि बताए ।

‘नेयमारले अहिले पेरिस सेन्ट जर्मेन (पीएसजी)को नेतृत्त्व गरिरहेका छन् । उनी संसारकै सबैभन्दा महंगा खेलाडी हुन् ।’

नेयमारले यस सिजन पीएसजीका लागि १६ गोल गरेका छन् ।

Loading...