‘लक डाउनमा सर्वसाधारणको समर्थन

काठमाडौं, १२ चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को थप संक्रमण रोक्न सरकारले घोषणा गरेको साताव्यापी ‘लक डाउन’को पहिलो दिन सर्वसाधारणको उल्लेखनीय समर्थन देखिएको छ ।

काठमाडौं उपत्यकासहित देशभरि नै लक डाउनमा सर्वसाधारणले घरमा नै बसेर कोरोना भाइरस संक्रमण रोक्ने सरकारको प्रयासलाई साथ दिएका छन् । उपत्यकाका सडक बिहानैदेखि खाली रहे भने उद्योग, कलकारखाना, पसल सबै बन्द रहेका थिए ।‘लक डाउन लाई व्यवस्थित बनाउन सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सवारी साधन नियन्त्रणका लागि ट्राफिक प्रहरी परिचालन गरेको थियो ।

सडकका विभिन्न स्थानमा प्रहरीले डिभाइडर राखेर कडा चेक जाँचको काम गरेको थियो । सरकारले सबै नागरिकलाई घरभित्रै रहन तथा सवारी साधन नचलाउन निर्देशन गरेको छ । सरकारको निर्देशनलाई सर्वसाधारणले साथ दिँदै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सहयोग गरेको पाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Loading...