लकडाउन कोरोना भाइरसको रोकथामको पहिलो चरण

विराटनगर, ११ चैत । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा ‘लकडाउन’ भइसकेको छ ।

तर, कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउन गरेपनि यसको अर्थ नबुझेर वा बुझेर पनि जानी नजानी सर्वसाधारणले भने गम्भीर रूपमा लिइरहेको पाइएको छैन ।

समयमा लकडाउनमा नजाने मुलुकहरूले गम्भीर संकटको सामना गर्नुपर्ने हुन सक्छ ।

त्यसैले, मानिसहरूले लकडाउनलाई नकारात्मक भन्दा पनि सरकारले जोखिम कम गर्न अपनाएको महत्वपूर्ण कदमको रूपमा बुझ्न जरुरी छ ।

कुनै पनि महामारीको संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रक्रियालाई लकडाउन भनेर बुझ्न सकिन्छ ।

कोरोना भाइरस मानिसबाट मानिसमा प्रत्यक्ष रूपमा सर्ने भएकोले रोगलाई थप फैलिन नदिनका लागि विश्वका अनेकौं देशहरू लकडाउन गरिएको छ ।

लकडाउन एउटा आपतकालीन वेवस्ता हो जसमा कुनै निश्चित समयको लागी निश्चित ठाँउमा गरिने सार्वजनिक रोकलाई लकडाउन भनिन्छ ।

लकडाउन गरिएको सहर तथा देशमा त्यहाँका मानिसलाई घरबाट निस्किन र हिँड्डुल गर्न प्रतिबन्ध लगाइन्छ ।

लकडाउनको मुख्य उद्देश्य नै भिडभाड कम गर्नु हो ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न धेरै भीड हुने शहरहरू लकडाउन गर्नु नै यसको रोकथामको पहिलो चरण हो ।

लकडाउनमा राखिएका शहर बाँकी विश्वसँग हवाई, स्थल, जल तथा सबै प्रकारको यातायातबाट सम्पर्क विस्छेद गरेर बस्छन् ।

लकडाउन भएको ठाउँमा औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन, आन्तरिक उडानमा पूर्ण रोक लागेको छ ।

स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी बिदा दिइएको छ ।

लकडाउनको समयमा घरमा बस्दा पनि धेरै कुराको ख्याल राख्न आवश्यक हुन्छ ।

पटक-पटक साबुन पानीले हात धुने, आँखा, नाक तथा मुख नछुने, १ मिटरको दुरी कायम राख्ने, हाच्छयु गर्दा वा खोक्दा रुमाल तथा कुहिनोले छोप्ने, सरसफाइमा एकदम ध्यान दिने गर्नु पर्छ ।

‘लकडाउन’का समयमा घरमा बस्दा अल्छी लाग्ने तथा मानसिक तनाव हुन सक्छ ।

यस्तो अवस्थामा आफूलाई मनपरेको गीतसंगीत सुन्ने, फिल्म हेर्ने, मोबाइलमा गेम खल्ने तथा किताब पढ्ने गर्नुहोस् ।

पेन्टिङ, सिलाइ, कटाइ तथा सिर्जनात्मक काममा मन लगाउनुहोस् ।

मन र मस्तिष्कलाई शान्त राख्न योग, व्यायाम, डान्स तथा ध्यान गर्नुहोस् ।

स्वास्थ्य खाना र प्रशस्त पानी पिउनु होस् ।

साथीहरूसँग सामाजिक सञ्जाल तथा फोनमार्फत जोडी रहनुहोस् ।

अहिले इन्टरनेटको पहुँचमा धेरै मानिसहरू रहेको हुँदा त्यहाँबाट नयाँ नयाँ कुराहरू सिक्नुहोस् ।

विश्वसनीय श्रोत भएमा समाचारहरू मात्र हेर्ने वा पढ्ने गर्नुहोस् ।

Loading...