कोरोना भाइरससँग फैलिएको भ्रम र त्यसका सत्यता

विराटनगर, ११ चैत । कोरोना भाइरस संसारभरि फैलिँदै जाँदा मानिसहरूमा यसको त्रास बढिरहेको छ । सामाजिक सञ्जाल वेबसाइटहरू तथा कुरै नबुझी मानिसहरूले कोरोना भाइरसका बारेमा धेरै भ्रमहरू फैलाइरहेका छन् ।

संसारभरि त्रास फैलिरहेको बेलामा कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा विश्व स्वास्थ्य संगठनले यसलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना संक्रमण बताएका छन् । टिकटकसँग मिलेर भ्रमहरू चिर्न कोशिश थालेको भए पनि विश्वसनीय सूचनालाई अगाडि सार्न र मानिसलाई भ्रमित बनाउने विषयवस्तुलाई हटाउन कदमहरू चालिरहेको भए पनि उनीहरूलाई गाह्रै परिरहेको छ ।

अनि सेन्सरशिपका कारण र केही देशमा सरकारप्रतिको अविश्वासका कारण गलत सूचनाहरू झन् तीव्र गतिमा फैलिँदो देखिन्छ ।

नयाँ कोरोनाभाइरसका सम्बन्धमा भ्रम र सत्य कुराहरू यस्ता छन्ः

१) भ्रमः कोरोनाभाइरस मानिसले बनाएको हो ।

तर, यो सत्य हैन इन्टरनेटमा भेटेका सबै कुरामा विश्वास गर्न छोडिदिनु होस् । भाइरस प्राकृतिक रूपमा आएको नभइ प्रयोगशालामा बनाइएको भनेर सामाजिक सञ्जालमा भ्रम फैलाउन थालियो ।

चीनको एक प्रयोगशालाले गोप्य रूपमा जैविक हतियार बनाएको र त्यो लिक भएको भन्ने हल्ला, चीनको राष्ट्रवादी सामाजिक सञ्जालमा भाइरस अमेरिकामा बनाइएको र यस सिजनमा फ्लुका कारण मरेका अमेरिकीहरू खासमा कोभिड–१९ का कारण मरेकोसमेत बताइयो ।

विज्ञहरूले भाइरसको वास्तविक स्रोत पत्ता लगाउने कोशिश गरिरहेका छन् । अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट उत्पत्ति भएर बीचमा अर्को एक प्राणीमा बसेर मानिसमा सरेको हुन सक्ने देखिएको हो ।

२) भ्रमः घरेलु उपचारले कोरोना भाइरसको उपचार वा रोकथाम गर्छ ।

तर, यो सत्य होइन । घरेलु उपचारले फाइदा गरेपनि भाइरसको रोकथाम गरेको प्रमाण छैन । सामाजिक सञ्जालमा आएजस्तो गरी लसुन खाँदा, प्रत्येक १५ मिनेटमा पानी पिउँदा वा भिटामिन सी लिँदा मानिसलाई कोरोनाभाइरसबाट बचाउन सकिन्छ भन्ने विषयमा कुनै प्रमाण छैन ।

शरीरमा तिलको तेल लगाउँदा, अल्कोहल वा क्लोरिन राख्दा भाइरस मर्छ भन्ने कुरा झूटो हो । भाइरस शरीरमा पहिलेदेखि नै छ भने यी कुराहरू छालामा राख्दा वा नाकमुनि राख्दा भाइरस मर्नुको साटो उल्टो थप हानि हुन्छ ।

अझ रासायनिक डिसइन्फेक्टेन्ट झुक्केर पनि पिउनु हुँदैन । तत्कालका लागि कोरोना भाइरसको कुनै उपचार छैन । यससम्बन्धी अनुसन्धान चलिरहेको छ र खोप उपलब्ध हुन एक वर्षभन्दा बढी समय लाग्नेछ ।

३) भ्रमः कालो मानिसलाई कोरोना भाइरस लाग्दैन

तर, यो सत्य हैन । कोरोना भाइरस जो कोहिलाई पनि लाग्न सक्छ । सीडीसीका अनुसार जो कोही संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएमा भाइरस सर्न सक्ने खतरा हुन्छ ।

४) भ्रमः मास्क लगाउन आवश्यक छ ।

तर, यो देशपिच्छे फरक हुन सक्छ । अमेरिकाको रोग नियन्त्रण महाशाखा (सीडीसी)ले स्वस्थ अमेरिकीले मास्क लगाउनु नपर्ने जनाएको छ अनि अमेरिकाका सर्जन जनरल जेरोम याडम्सले राम्ररी मास्क नलगाएमा संक्रमणको जोखिम झन् बढ्ने बताएका छन् ।

संक्रमित र अरूलाई सार्न सक्ने रोगीहरूले चाहिँ मास्क लगाउनै पर्छ । अनि रोगीलाई स्याहार गरिरहेका र स्वास्थ्यकर्मीहरूले पनि मास्क लगाउनुपर्छ । मास्क लगाउने कि नलगाउने भन्ने कुरा देशको स्वास्थ्य संस्थाले दिएको निर्देशनमा भर पर्छ ।

५) भ्रमः तातोले भाइरस मार्छ ।

तर, ह्यान्ड ड्रायरले भाइरसलाई मार्न सक्दैन । विश्व स्वास्थ्य संगठनले यस विषयमा जानकारी दिँदै युभी किरण भएका बत्तीहरूका विकिरणले छाला चिलाउने सम्भावना हुने हुँदा हात सफा गर्नका लागि उपयोग गर्नु नहुने बताउँछन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरसलाई तातोले मार्छ भनेका थिए । त्यसैले गर्दा यो संक्रमण वसन्त ऋतु आएपछि अन्त्य हुन्छ भन्ने उनको भनाइ थियो । तर, सार्वजनिक स्वास्थ्यविद्हरूले यसो हुन्छ भन्ने कुनै आधार नभएको बताए ।

६) भ्रमः भाइरस हुलाकमार्फत सर्छ ।

तर, हुलाकी सामग्रीले भाइरस सार्दैन । चीनबाट आएको हुलाकी सामग्रीले भाइरस नसार्ने विश्व स्वास्थ्य संगठनले भनिसकेको छ । नयाँ कोरोनाभाइरसले मानिसहरूलाई कसरी संक्रमित बनाउँछ भन्ने विषयमा अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेका छन् । तर, पहिलेका कोरोनाभाइरसहरू कुनै पनि वस्तु वा सतहमा लामो समय नबाँच्ने देखिएका छन् ।

७) भ्रमः बालबालिकालाई कोरोनाभाइरस लाग्दैन ।

तर, जुनसुकै उमेरका मानिसहरूलाई पनि कोरोना भाइरस लाग्नसक्छ । जुनसुकै उमेरका मानिसलाई पनि कोरोनाभाइरस लाग्न सक्छ तर, वृद्ध व्यक्ति र पहिलेदेखि स्वास्थ्य समस्या रहेकाहरूमा चाहिँ संक्रमणको जोखिम उच्च हुने बताइएको छ । भाइरस पुष्टि भएका धेरैजसो केसहरूमा वयस्क नै देखिएपनि बालबालिकालाई पनि संक्रमण भएको सीडीसीले जनाएको छ ।

८) भ्रमः कोरोनाभाइरस लागेको मानिस मर्छ ।

तर, यो सत्य हैन । कोरोना भाइरसबाट संक्रमित भएकाहरूमध्ये मृत्युदर कम छ । कोरोना भाइरसको मृत्युदर लगभग २ प्रतिशत रहेको र अधिकारीहरूले उक्त संख्या पनि घट्ने अपेक्षा गरिरहेका छन् ।

कोरोनाभाइरस लागेका मानिसमा श्वासनलीमा समस्या आउने, नाक बगिरहने, घाँटी खसखसाउने, टाउको दुख्ने र दुई दिन जति ज्वरो आउने हो । अधिकांशतया यी लक्षणहरू आफैं हराएर जान्छन् ।

कमजोर रोगप्रतिरोध क्षमता भएकाहरू, वृद्धहरू, शिशुहरूमा भाइरसले निमोनिया र ब्रोन्काइटिस जस्तो गरी श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ । तिमध्ये पनि समस्या गम्भीर हुँदै गए मात्र मृत्यु हुने हो ।

Loading...