विगत पाँच दिनको शून्यतापछि फेरि उहानमा भेटियो कोरोना संक्रमण

एजेन्सी, ११ चैत । विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।

त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो । र, पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन । तर, सोमबार एक जनामा संक्रमण देखिएको बताइएको छ ।

यसैगरी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो ।

तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ ।

प्रान्तीय कोविड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरू र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।

हुबे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् ।

गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो ।

Loading...