कोरोना भाइरसबारे भ्रम फैल्याउने पाष्टरको समूह वर्षौंदेखि क्रिश्चियन धर्मको उग्र प्रचारप्रसारमा सक्रिय

विराटनगर, ११ चैत । कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाएको आरोपमा पक्राउ परेका (पाष्टर) केशव आचार्यको समूह क्रिश्चिन धर्मको उग्रगतिविधिमा वर्षौंदेखि सक्रिय हुँदै आएको पाइएको छ ।

कर्णाली प्रदेशको जुम्ला घर भइ हाल गण्डक प्रदेशको राजधानी पोखरा महानगरपालिका–२९ निवासी केशवराज आचार्य, सुनसरीको धरानका सामुयल तामाङ, झापाका बोनी तामाङ र काठमाडौंका राजु सुन्दासलगायतको समूह क्रिस्चियन धर्मको उग्र र भ्रामक प्रचारप्रसारको गतिविधिमा सक्रिय हुँदैआएको पाइएको हो ।

क्रिश्चियन धर्मका जानकारहरूका अनुसार यो समूहको नेतृत्व धरानका सामुयल तामाङले गर्दछन् । बोनी, राजु र केशव सामुयलका खास सहयोगीहरू हुन् । सबैजना यो समूहका पाष्टर हुन् ।

क्रिस्चियन धर्मको उग्र र भ्रामक प्रचारप्रसारमा यो समूह विगत पाँच–सात वर्षदेखि नेपालमा सक्रिय रहँदै आएको छ ।

यो समूहले नेपालका प्रायः मुख्य शहरमा चर्च स्थापना गरेर आफूलाई फैलाइसकेको छ ।

यो समूहले आफूलाई आमाबाबु घोषणा गराएर अनुयायी छोराछोरीहरूबाट आर्थिक संकलन गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

आफ्नो समूहको सदस्य बनेर प्रभुको प्रार्थना गर्नेहरूलाई कोरोना भाइरसले छुनै सक्दैन, प्रभु यशुकै कारणले चीनमा कोरोनाको महामारी नियन्त्रण भएको भन्दै चर्चमा अनुयायीहरू भेला गराएर प्रार्थना गराई पाष्टर केशव आर्चायले भिडियो युट्युबमा भाइरल बनाएका थिए ।

खासगरी संवेदनशील र अर्को धर्मको समस्या र आन्तरिक विवादको फाउदा उठाउँदै यो समूहले भ्रामक प्रचार गर्दै आएको छ ।

क्रिस्चियन धर्मको आक्रमक ढंगले प्रचार गर्नु र आफूलाई भाइरल बनाउनु यो समूहको योजना हो । यो समूहले आक्रामक प्रवचन दिएका भिडियोहरू युट्युबमा प्रशस्त पाइन्छन् ।

Loading...