लकडाउन काठमाडौंमा प्रभावकारी

काठमाडौं, ११ चैत । कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन संघीय सरकारले गरेको लकडाउन राजधानी काठमाडौंमा प्रभावकारी देखिएको छ ।

स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सरकारले आजबाट लागु गरेको लकडाउनलाई उपत्यकाबासीले स्वीकार गरेका छन् ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेकका सवारी साधन सञ्चालन भएनन् ।

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कर्फ्युको जस्तै देखिएको थियो ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रूपमा सरकारबाट भएको आदेश हो ।

माईकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो ।

सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाइ गरिएको छ ।

फाट्टफुट्ट सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो ।

मंगलबार बिहान ६ बजे देखि १८ गतेसम्म अत्यावश्यकबाहेक सर्वसाधरणलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।

Loading...