एसेन्सिओले जिताए रियल मड्रिडलाई ला लिगा उपाधि, उपाधि रकम युनिसेफलाई

एजेन्सी, ११ चैत । विश्वचर्चित फुटबल क्लब रियल मड्रिडले ला लिगा फिफा २० च्यारिटी प्रतियोगिता जितेको छ । रियल मड्रिडका अट्याकिङ मिडफिल्डर मार्काे एसेन्सिओले प्रतियोगिताका फाइनल खेल जित्दै कोभिड–१९ विरुद्ध लड्नका लागि अक्षय कोष जुटाउन मद्दतसमेत गरे ।

कोभिड–१९ को प्रकोपले विश्वभरिका सारा फुटबल प्रतियोगिता स्थिगित भएको बेला भच्र्युअलि भएपनि ला लिगा प्रतियोगिता जारी गरिएको थियो । भच्र्युअल ला लिगा सञ्चालन गर्ने जुक्ति थियो स्पेनिस अनलाईन गेम स्ट्रिमर इबाइ लालानसको ।

उनले ला लिगा खेल्ने सबै २० क्लबका एक–एक जना खेलाडीलाई आफ्नो क्लबको प्रतिनिधित्व गर्दै फिफा २० च्यारिटी प्रतियोगीतामा सहभागी हुन आह्वान गरेका थिए । आफ्नो घुँडाको चोटको कारण यो सिजन गुमाएका एसेन्सिओले फिफा २० च्यारिटी प्रतियोगिता जित्दै आफू फुटबल मैदानमा मात्र हैन अनलाइनमा समेत कुशल छु भनेर प्रमाणित गरिदिएका छन् ।

आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा लेगानेसका आइटर रुइबललाई ४–२ गोलान्तरले स्तब्ध पार्दै एसेन्सिओले प्रतियोगिता जितेका थिए । जितपछि ट्वीटरमा ट्वीट गर्दै एसेन्सिओले भनेका छन्, ‘यो प्रतियोगिता निकै रमाइलो भयो । प्रतियोगिताको मुख्य उद्देश्य भनेको यो दुःखको समयमा हँसाउनु, मनोरञ्जन प्रदान गर्नु र कोरोनाविरुद्धको लडाइँमा सबैलाई साथ दिनु थियो । र त्यस कुरा हामीले सम्भव गरिछाड्यौं ।’

प्रतियोगिताको आयोजक इबाइलाई आफ्नो ट्वीटलाई मेन्सन गर्दै एसेन्सिओले हार्दिक बधाई इबाइ लालानस र सम्पूर्ण सहभागीहरू जसले हामीलाई सफल हुन साथ दिनुभयो भनेका छन् ।

प्रतियोगिताबाट एक लाख ४० हजार पाउण्ड स्टर्लिङ संकलन गरिएको थियो । संकलित सम्पूर्ण रकम संयुक्त राष्ट्र संघ अन्तर्गतको युनिसेफलाई दिइनेछ । रकमले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाविरुद्ध लड्नका लागि थोरै भएपनि सहयोग गर्ने आयोजकको विश्वास छ ।

Loading...