बल प्रयोग गरेर विराटनगरको गुद्री बजार बन्द गराइयो

विराटनगर, ११ चैत । कोरोना भाइरस रोकथाम गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन भएको पाइएपछि प्रहरीले विराटनगर महानगरको गुद्री बजार बन्द गराएको छ ।

बाक्लो आवतजावत हुने गुद्री बजारका व्यपारीहरूले सरकारी निर्देशन पालना गर्न अटेरपछि प्रहरीले बिहान ११ बजे बलप्रयोग गरेर गुद्री बजार बन्द गराएको हो ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि लागू गरेको लकडाउनको विराटनगरमा प्रशस्त उल्लंघन भएको छ ।

लकडाउनको पहिलोदिन सरकारको निर्देशनअनुसार सार्वजनिक यातायात र बजार बन्द भएपनि निजी सवारी साधनहरू भने मनग्गे चलिरहेका छन् ।

मानिसहरू मोटरसाइकल र कार–जीप प्रयोग गरेर आवत–जावत गरिरेहका छन् ।

यति मात्र हैन अति आवश्यक पर्दा मात्र घरबाट निस्कन र अरुबेला घरमै बस्न सरकारले गरेको उर्दी पनि मानिसहरूले पालना गरेका छैनन् ।

विराटनगर महानगरको चौक र सडकमा मानिसहरूविना मास्क खुल्ला हिँडडुल मात्र गरिरहेका छैनन झुण्डझुण्डमा भेला भएर गफ हाँकिरहेको भेटिन्छन् ।

लकडाउनका बेला अति आवश्यक कामबाहेक घरबाट ननिस्कन र अतिआवश्यक सेवा मात्र खुल्ला गर्न महानगरपालिकाले माइकिङ गरेर सूचना प्रवाह गरिरहे पनि त्यसको मानिसहरूमा असर खासै परेको देखिँदैन ।

सरकारले लागू गराएको लक डाउन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद सजायको व्यवस्था छ ।

संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

Loading...