नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन, अमेरिका ठुलो संकटमा

काठमाडौं, ११ चैत। विदेशका नेपालीमा कोभिड १९ संक्रमण देखिन थालेपछि सरकारले नेपाली दूतावासलाई उनीहरूको उपचारमा ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग समन्वय गरी तत्काल उचित उपचारको व्यवस्थापनमा लाग्न पनि दूतावासहरूलाई भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकामा दुई, पोर्चुगलमा तीन, बहराइनमा तीन र यूएईमा दुई नेपालीमा संक्रमण देखिएको छ। ‘राजदूतावासलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सबै सहयोग पुर्‍याउन र स्थितिको आकलन गर्न निर्देशन दिइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

सरकारले यसअघि आफ्ना नागरिकलाई सुरक्षित बनाउन र जानकारीमूलक सन्देश प्रवाह गर्न भनेको थियो। पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावास र अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासलाई संक्रमितको उपचारमा समन्वय गर्न निर्देशन दिइएको परराष्ट्र अधिकारीले जानकारी दिए। नेपाली दूतावासले गैरआवासीय नेपाली संघका प्रतिनिधि र अन्य विभिन्न सञ्जालमार्फत पनि नेपालीको अवस्था बुझिरहेको छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खबर छ ।

अमेरिकामा कोरोना भाइरसका १० हजारभन्दा बढी संक्रमित एक दिनमा नै फेला परेका छन् । त्यस्तै सोमबारमात्रै अमेरिकामा १३७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ५५० पुगेको छ ।

संक्रमतिहरुको संख्या ४३ हजार ७१८ पुगेको छ । अमेरिकामा संक्रमितहरुको संख्या बढ्न थालेपछि हस्पिटलमा समेत औषधि अभाव हुन थालेको छ । मिडिया रिपोर्टका अनुसार प्रत्येक राज्यका अस्पतालहरुले जतिसक्दो चाँडो औषधि उत्पादन गर्न आग्रह गरेका छन् । आजका दैनिक पत्रिकाहरुमा समाचार छ ।

Loading...