आजबाट नेपाल एक साता लकडाउन, विदेश भ्रमणमा रोक

काठमाडौं, ११ चैत । सरकारले अन्ततः देशै लकडाउन गरेको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो। यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन्।

सरकारले यो निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाटै गरेको र त्यसको सार्वजनिकीकरण मात्र सोमबार गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा।युवराज खतिवडाले जानकारी दिए। कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा। खतिवडाले बताए।

‘यो एकप्रकारले सरकारको आदेश हो। आइतबारकै मन्त्रिपरिषद् बैठकले गरेको निर्णय थियो, आज मात्र हामीले सार्वजनिक गरेका हौं’, उनले भने, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पनि अब यसलाई हामी सबैले लागू गर्नुपर्छ।’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले यस्तो कदम उठाएको हो। यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाउँदैनन्। त्यसबाहेकका कर्मचारीलाई भने कार्यालय प्रमुखले आवश्यकताका आधारमा बोलाउने गरी घर(घरमै अलर्ट अवस्थामा राख्ने गरी बिदा दिने निर्णय पनि भएको उनले सुनाए। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खबर छ ।

सरकारले कोरोना भाइरसको जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना महामारी नियन्त्रणमा नआएसम्म विदेश भ्रमणमा नजान आइतबार जनप्रतिनिधि र कर्मचारीलाई निर्देश गरेको हो। ‘कोरोना नियन्त्रणमा व्यक्तिगत, सामूहिक र संस्थागत सजगता आवश्यक देखिएकाले यसका लागि नेपाल सरकारबाट ठूला जमघटका कार्यक्रम नराख्ने, वैदेशिक भ्रमणमा सजगता अपनाउनेलगायत विषयमा सबै सरकारी र जनप्रतिनिधिमूलक निकायलाई जानकारी गराइसकिएको छ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ, ‘यस सन्दर्भमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्थाको निमन्त्रणामा हुने वैदेशिक भ्रमणमा सहभागिता जनाउन जोखिमपूर्ण देखिएकाले सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीलाई कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म विदेश भ्रमणका कार्यक्रम अघि नबढाउन अनुरोध छ।’ अब कोरोना महामारी नियनन्त्रणमा नआएसम्म नेपालका कुनै पनि तहबाट विदेशमा हुने भ्रमण रोकिने आजको नागरिक दैैनिकमा खवर छ ।

Loading...