नाकामा धर्का कोरेर नेपाल आउनेको तथ्यांक संकलन

एक सातामा एकलाख भित्रिए

विराटनगर, १० चैत । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि सीमावर्ती जोगबनीबाट चैतमहिनामा मात्र एक लाखभन्दा बढी नेपाल भित्रिएका छन् ।

रानी नाकामा राखिएको तथ्यांकअनुसार १ चैतदेखि १० चैतसम्म एक लाख एक हजार स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गरेको तथ्यांक छ । स्वास्थ्य परीक्षण नगरी भित्रिनेको संख्या पनि ठूलो छ ।

प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्क हुँदै एक लाख बढी भित्रिए पनि उनीहरू कहाँ छन् भन्ने जानकारी स्थानीय प्रशासनसँग छैन ।

ज्वरो नाप गरेर फर्किएकाहरूको तथ्यांक धर्का कोरेर संकलन गरिएको छ ।

हेल्थ डेस्कमा खटिएका कर्मचारीले पाँच–पाँचजना आएको तथ्याङक धर्का कोरेर रेकर्ड राख्छन् ।

ठूलो भीड भएका कारण नाम ठेगाना लेख्दा ढिलो हुने हेल्थ डेस्कमा खटिएका कर्मचारीहरू बताउँछन् । हेल्थ डेस्कको ३ चैतसम्मको तथ्याङकमा मात्र नाम र ठेगाना उल्लेख छ ।

२२ फागुनदेखि ३ चैतसम्म आएकाहरूमध्ये उच्च ज्वोरो भएकाहरूको सम्पर्क नम्बर पनि टिपिएको छ ।

तर ४ गतेबाट आएकाहरूको गणना भने धर्का तानेर गरिएको छ ।

धर्का तानिएकाहरू कसैको परिचय उल्लेख छैन ।

विराटनगर रानी नाकाबाट ४ चैतमा १६ हजार ६ सय ८, ५ चैतमा १६ हजार १ सय २४, र ६ चैतमा २४ हजार १ सय ६३ जना नेपाल भित्रिएको तथ्यांक छ ।

७ चैतमा १६ हजार ७ सय ७० र ८ चैतमा १८ हजार १ सय ६३ जना नेपाल भित्रिएका थिए । त्यस्तै आइतबार एक हजार र सोमबार ८ सय नेपाल भित्रिएका छन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब खड्का आइतबारसम्म आएकाहरूको संख्या टिपिएपनि ठेगाना टिप्न नसकिएको बताउँछन् ।

तापक्रम नापिएकाहरू शंका गर्नुपर्ने अवस्थाका नभएको बताउँदै उनले सोमबारबाट भित्रिएकाहरूको सबै विवरण उल्लेख गरिने बताए ।

झापाको काँडडभिट्टा नाका हुँदै पछिल्लो एक सातामा ५३ हजार नेपाल भित्रिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाइँका यसरी नेपाल भित्रिएकाहरूमध्ये केही किनमेलका लागि भारतीय बजार पुगेकाहरू हुन् ।

अधिकांश भने भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरू हुन् ।

Loading...