कोरोना पुष्टि भएका पहिलाे ९९ जनामा देखिएको थियो यस्तो लक्षण

विराटनगर, १० चैत । काेराेना भाइरस महामारीको इपिसेन्टर रहेको चीनको वुहानस्थित एउटा अस्पतालले कोरोना भाइरसले शरीरमा कसरी आक्रमण गर्छ, लक्षणहरू, सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा रहेका मानिस को हुन्, उपचार कसरी हुन्छ भन्ने विषयमा त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित गरेको छ ।

ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट कोरोना भाइरस फैलिएको अनुमान गरिएका कारण सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध रहेको थियो ।

बीबीसीमा उल्लेख गरिएअनुसार ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण तथा फोक्सोमा समस्या देखिएको थियो ।

त्यसमा ८२ जनालाई ज्वरो, ८१ जनालाई रुघाखोकी, ३१ जनाको श्वासप्रश्वासमा समस्या, ११ जनालाई मांसपेशी दुख्ने, ९ जनामा मिश्रित समस्या, ८ जनालाई टाउको दुखेको र ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो ।

ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूम्रपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे ।

तर, चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएकोले ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएका कारण फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न नसक्दा भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न नसके पछि उनले सास फेर्न छाडे ।

त्यस्तै ६९ वर्षीय पुरुषलाई सास फेर्न गाह्रो भएको एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो ।

तर, गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो ।

जनवरी २५ सम्ममा ती ९९ बिरामीमध्ये ५७ जना अझै अस्पतालमा, ३१ जना घर फर्केका, र ११ जनाको मृत्यु भएको छ ।

ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे अर्थात् उनीहरूको औसत आयु ५६ थियो र त्यसमध्ये ६७ जना पुरुष थिए ।

यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ ।

सामाजिक र सांस्कृतिक कारणले गर्दा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन् ।

ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए ।

त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण छिटो भएको हुन सक्छ ।

तिमध्ये ४० जनाको मुटु कमजोर, रक्तनलीहरू बिग्रिएको, हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित तथा १२ जनालाई मधुमेह थियो ।

Loading...