इटालीको कोरोना संक्रमण दर र संक्रमणकै कारण मृत्यु हुनेको संख्या घट्दो

विराटनगर, १० चैत । पछिल्लो दिनहरूमा कोरोना भाइरस (कोविड–१९) को कारण मृत्यु हुने मानिसहरूको संख्या घट्दै गएकाले इटालीमा कोरोना संक्रमणको दर घट्ने इटालीका स्वास्थ्य अधिकारीहरूले सकारात्मक आशा व्यक्त गरेका छन् ।

एक महिना लामो महामारीको संकटबाट ग्रसित इटालीमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार चार सय ७६ पुगेको छ भने संक्रमित हुनेको संख्या ५९ हजार २ सय पुगेको ‘आरटीई‘ले जनाएको छ ।

यद्यपि, इटालीका शीर्ष स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबारदेखि दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको हो ।

शनिबार ७ सय ९३ जनाको मृत्यु भएको इटालीमा आइतबार ६ सय ५१ जनाको मात्र कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

यसलाई सकारात्मक रूपमा लिनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताए ।

नागरिक सुरक्षा एजेन्सीको रिपोर्टअनुसार इटालीमा संक्रमितको संख्या १०.४ प्रतिशतले बढ्दै ५३ हजार ५ सय ७८ बाट ५९ हजार १ सय ३८ पुगेको थियो ।

२१ फेब्रुअरीमा पहिलो पटक संक्रमण देखिएको इटालीमा यो संख्या नै अहिलेसम्मको सबैभन्दा कम वृद्धि हो ।

कूल संक्रमितमध्ये शनिबार ६ हजार ७२ जना पूर्ण रूपमा स्वास्थ्य भएको इटालीमा आइतबार ७ हजार २४ जना संक्रमणपछि पूर्ण रूपमा स्वास्थ्य भइसकेका छन् ।

संक्रमणबाट सबैभन्दा प्रभावित इटालीको लोम्बार्डीमा स्थिती अझै भयावह नै छ ।

लोम्बार्डीमा संक्रमित र मृत्यु हुने दुवैको संख्यामा वृद्धि भई २७ हजार २ सय ५ जना संक्रमित र तीमध्ये ३ हजार ४ सय ५६ को मृत्यु भइसकेको छ ।

‘आज घोषणा गरिएको तथ्य हिजोको तुलनामा कम छ’ इटालीका नागरिक सुरक्षा सेवा प्रमुख एन्जेलो बोर्रेलीले भने, ‘म आशा गर्दछु, र हामी सबै आशा गर्दछौं कि यी तथ्यहरू आउँदो दिनमा घट्दै जानेछन् । तर अहिलेको लागि महत्वपूर्ण कुरा भनेको तपाईँले आफ्नो सुरक्षामा विशेष ध्यान दिनुहोस् ।’

इटालीले सरकारले कोरोना महामारीका कारण विश्वमा नै आफ्नो अस्तित्व खतरामा परेको यथार्थ बुझ्दै फैलावट रोक्न इटालीको अर्थव्यवस्था र स्वतन्त्रताको बलिदान दिँदै प्रायः सबै बन्द गरेको छ ।

संक्रमितमध्ये ८० प्रतिशत मानिसहरू सामान्य छन्, १४ प्रतिशत मानिसहरू गम्भीर छन् भने ६ प्रतिशत मानिसहरूको स्वास्थ्य अवस्था नाजुक छ ।

Loading...