सामान्य भाइरसलाई यसरी बुझौं

विराटनगर, १० चैत । भाइरस, यो शब्द विगत तीन महिनादेखि हरेक नेपालीले धेरै सुन्दै आएको शब्द बनेको छ । नेपालमा मात्र नभएर अहिले विश्वभर भाइरसभन्दा पनि कोरोना भाइरसको चर्चा उच्च छ ।

कुनै पनि भाइरसको संक्रमण सरुवा रोग हो । निरोगी मानिसमा भाइरस पस्नेबित्तिकै एकदम धेरै फैलिन्छ र निमोनिया गराउँछ । कोरोना भाइरस अर्थात् कोभिड १९ नयाँ जातिको भाइरस भएकाले यसको धेरै कुरा जान्न बाँकी नै छ । तर, सामान्य भाइरसबारेमा पहिला नै विभिन्न खोजहरू भइसकेका छन् ।

भाइरस एकदमै सूक्ष्म जीवाणु हो । आँखाले नदेखिने ब्याक्टेरियाभन्दा पनि भाइरस धेरै गुना सानो हुन्छ । सन् १९३१ मा शक्तिशाली इलेक्ट्रोन माइक्रोसकोपको आविष्कारपछि मात्रै भाइरसलाई देख्न सकिएको हो । भाइरस न्युक्लिक एसिडका टुक्रा र प्रोटिनबाट मिलेर बनेको हुन्छ । न्युक्लियोटाइड जोडिएर बनेको न्युक्लिक एसिड नै जीवन सृष्टिको आधार हुन् । जीवित प्राणीको कोषभित्र गोलो एक न्युक्लियस हुन्छ । न्युक्लिक एसिड न्युक्लियस भित्र र बाहिर पनि हुन्छ ।

भाइरस परजीवी हो । स्वतन्त्र रूपमा यो निष्क्रिय हुन्छ । भाइरसको न्युक्लिक एसिड होस्टको कोषमा भएको रसबाट मात्र सक्रिय हुन सक्छ । सक्रिय हुँदा भाइरसले एकबाट दुई, दुईबाट चार गरी आफूजस्तै अरू भाइरस बनाउने क्षमता राख्छ । यसरी छिटो फैलिएपछि नै संक्रमणको लक्षण देखिन थाल्छ । भाइरसले कोषको चिज प्रयोग गर्दै बढ्दै जान्छ होस्ट (भाइरस बोकेको मानिस वा जीवित प्राणी) को कोषले सामान्य काम गर्न सक्दैन । जति धेरै भाइरस बन्छ उति नै होस्टलाई असजिलो हुँदैजान्छ ।

जीवाणु प्रवेश गरेर वा कोषमा विकृति उत्पन्न भएर हुने खराबीविरुद्धको औषधि र त्यसलाई प्रतिरोध गर्ने क्षमता सबैभन्दा पहिला शरीरले नै उत्पादन गर्छ । रगतमा यस्तो औषधि पहिल्यै देखि नै हुन्छ वा नभएमा बन्न थाल्छ । यसलाई एन्टिबडी भनिन्छ । विभिन्न माध्यमबाट हरेक पल शरीरमा विभिन्नथरीका जीवाणु प्रवेश गरिरहेका हुन्छन् भने कोषमा पनि विकृति उन्पन्न भइरहेको हुन्छ ।

अधिकांश अवस्थामा रगतमा भएको वा बन्ने एन्टिबडीका कारण शरीरलाई केही हुँदैन । कतिपय अवस्थामा त पछि नयाँ जीवाणु पसेर असर गर्ला भनेर सीमित मात्रामा जीवाणु शरीरमा प्रवेश गराएर एन्टिबडी अग्रिम रूपमा निर्माण गराइन्छ जसलाई खोप पनि भनिन्छ । शरीरको लड्न सक्ने क्षमताले नभ्याए, क्षमता कमजोर भए वा क्षमता नै नभए मात्र रोग लाग्छ ।

भाइरसको संक्रमण हुनु भनेको बाहिरबाट प्रवेश गरेको जीवाणुले शरीरमा प्रभाव देखाउनु हो । यस्तो संक्रमण एक मानिस वा प्राणीमा भएको जीवाणु अर्को मानिसमा सरेर हुने संक्रमणलाई सरुवा रोग भनिन्छ । जब यसरी सर्ने काम धेरै र छिटोछिटो र सजिलै एक देशको अनेक ठाउँ वा देशबाहिर फैलिन्छ तब यसलाई महामारीको अवस्था भनिन्छ । सरुवा रोगले धनी र गरिब, गोरो र कालो भनेर केही भन्दैन ।

भाइरसको संक्रमणबाट फैलिएको रोगको उपचार विभिन्न तरिकाले गरिन्छ । शरीरको प्रतिरोध क्षमता बढाएर बाहिरको जीवाणुलाई परास्त गर्न खोप लगाइन्छ । शरीरभित्र प्रवेश गरेकोलाई केमिकल प्रयोग गरेर मारिन्छ । संक्रमण को रोकथाम गर्नु नै उचित हुन्छ किन भने यसो गर्नु भनेको रोग नै लाग्न नदिने हो ।

रोगका जीवाणुलाई आफ्नो शरीरमा पस्नै नदिने नै उपयुक्त उपाय हो । शरीरमा पस्न नदिने कुरा व्यक्तिगत सरसफाइ र सर्ने माध्यमलाई पन्छाएर वा नष्ट गरेर हासिल गरिन्छ भने प्रतिरोध क्षमता खोप लगाएर र शरीरलाई स्वस्थ राखेर हासिल गरिन्छ । भ्याक्सिन र औषधिभन्दा पनि पानी उमालेर खाने, नियमित साबुन पानीले हात धुने, चर्पीमा दिसापिसाब गर्ने जस्ता साना–तिना तरिकाले पनि करोडौं मानिसको जीवन बचाउन सकिन्छ ।

Loading...