सरकारले कोरोना संक्रमितलाई उद्धार गरी निःशुल्क उपचार गर्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताए । उनले भने, ‘कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँँ ।’

उनले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत बताए । उनले भने, ‘हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ । कोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।’

फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभएको थियो । गत मङ्गलबार आउनुभएका उहाँको परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्री ढकालले विगतमा पनि कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको हो भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने बताए । उनले कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ पनि क्वारेन्टाइनमा राखी उपचार गरिने जानकारी दिए ।

उनले भने, ‘उहाँको परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएका साथीभाइको पनि हामीले खोजी गरिहेका छौँ । उहाँहरू सबैलाई क्वारेन्टाइनमा राखी उपचार गर्छौं ।’

उनले आइतबारदेखि चीन र भारतका सीमा एक हप्तासम्म बन्द गरिएको जानकारी गराउँदै ती दुई देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्नसमेत भनिएको बताए । कोरोना अतिप्रभावित ५५ देश र ती देशबाट ट्रान्जिट भएर आउने यात्रुलाई नलिने भनेर निर्णय भए पनि केही अपवादका घटना भएपछि होम क्वारेन्टाइनमा पठाइएको जानकारी उहाँले दिए ।

खरिपाटीस्थित क्वारेन्टाइन आकस्मिकका लागि राखिने उनले बताए । हवाईमार्गबाट आएका र तत्काल आफ्नो बस्ने व्यवस्था नभएकाहरुलाई सरकारले खरिपाटीमा राखेको छ । बाहिरबाट आएका सङ्क्रमितलाई अप्ठ्यारो भयो भने सरकारले तोकिएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिए ।

Loading...