नेयमार क्याप नोउ फर्किए मेस्सीले बार्सिलोनासँग सम्झौता थप्ने

एजेन्सी, १० चैत । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पूर्वसहकर्मी नेयमार क्याप नोउ फर्किएको खण्डमा बार्सिलोनासँग सम्झौता थप्ने भएका छन् ।

स्पेनिस मिडिया ‘एएस’का अनुसार नेयमार बार्सिलोना फर्किएमा कप्तान मेस्सीले क्लबसँग सम्झौता लम्ब्याउने छन् ।

asf

मेस्सी र बार्सिलोनाबीचको सम्झौता सन् २०२१ सम्मको मात्र छ ।

पछिल्लो समय मेस्सीले यस सिजनको अन्त्यसँगै बार्सिलोना छोड्न सक्ने चर्चा चलिआएको छ ।

खबरका अनुसार मेस्सीले आफ्नो टोलीमा नेयमारको अभाव खड्किरहेको महशूस गर्छन् ।

उनले धेरै अगाडिबाट नै नेयमारलाई क्लबमा फर्काउनुपर्ने बताउँदै आएका छन् ।

सन् २०१७ मा कीर्तिमानी मूल्यमा फ्रान्स गएका नेयमारलाई फर्काउनका लागि मेस्सीले पटक–पटक प्रयास गरिरहेका छन् ।

विश्वकै सबैभन्दा महंगो खेलाडी हुँदै बार्सिलोनाबाट लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी पुनः क्याप नोउ फर्किने चर्चा चलिआएको छ ।

ब्राजिलियन स्टार नेयमारले पनि बार्सिलोना फर्कन सहमति जनाएको बताइएको छ ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’का अनुसार नेयमारले बार्सिलोना फर्किने विषयमा सहमत जनाएका हुन् । यता, पीएसजीले पनि मूल्य घटाउँदै नेयमार बेच्ने योजना बनाएको छ ।


यसअघि दुई क्लबबीच रकमको विषयमा कुरा नमिल्दा उनको सरुवा सम्भव भएको थिएन ।

२ सय २२ मिलियन युरोमा पीएसजीमा अनुबन्ध भएका नेयमारलाई पीएसजीले १ सय ३५ मिलियन पाउण्ड मै बेच्ने भएको छ ।

मूल्य घटेसँगै २८ वर्षीय नेयमारको सरुवा सम्भव देखिएको छ ।

अब मेस्सी र नेयमारलाई एकसाथ बार्सिलोनाबाट खेल्दै गरेको देख्न पाइनेछ ।

र, नेयमार फर्किए भने मेस्सीले पनि बार्सिलोनासँग सम्झौता थप्ने छन् ।

यसका लागि मेस्सीले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग छलफल गरेको एएसको दाबी छ ।

यता, बार्सिलोनाले भने नेयमारका लागि प्रस्ताव गरिसकेको छैन ।

‘ले१० स्पोर्ट्स’का अनुसार नेयमारका लागि बार्सिलोनाले पीएसजीसँग प्रस्ताव राखेको छैन । नेयमार र पीएसजीबीचको सम्झौता २०२२ सम्म छ ।

Loading...