कोरोना संक्रमणबाट बालबालिकालाई बचाउन अविभावक सचेत हुन जरुरी

बबिता लिम्बू
विराटनगर, १० चैत्र । कक्षा २ मा पढने नुना लिङ्देनको विद्यालय छुट्टि भएसँगै आमा आशा निक्कै सचेत हुन थालेकी छन् । धरान– १५ पुष्पलाल मार्गकी आशाले छोरीको विद्यालय बिदा भएसँगै सतर्कता अपनाउन थालेकी हुन् ।

कोरोना संक्रमितको विश्वभरि नै बढिरहेका छन् । त्यसैले यसबाट बचन बेलैमा आवश्यक उपाय अवलम्बन गर्नुपर्ने उनको तर्क छ । यस्तो बेला आवश्यक पर्ने सबै सामान सञ्चित गरेको उनले बताइन् । कार्टुन हेरेर बस्ने छोरीलाई पटक–पटक हात धुन लगाउने गरेको बताइन् ।

गाउँघरमा भने सावधानी अपनाइएको पाइँदैन । कोरोना भाइरस गाउँघरसम्म नआइपुग्ने आशमा छन् । कक्षा आठमा पढ्ने बेलबारी–७ का प्रभात राई कोरोना संक्रमणको बारेमा बुझे पनि व्यवहारमा प्रयोग गर्दैनन् । ‘गाउँमा त्यस्तो केही नभएकाले प्रयोग नगरेको हो’, उनले भने ।

बुढीगंगा गाउँपालिका–१ का सञ्जय चौधरी कक्षा चारको वार्षिक परीक्षा दिएपछि अहिले घरमै बसिरहेका छन् । स्कुलमा भाइरस बारे जानकारी पाए पनि खोला किनारमा खेल्दै हिँड्छन् । घर छेउको खोलामा खेलिरहेका उनलाई किन फोहोरमा खेलको भन्दा ‘हात धोएर घरमा बस्ने’ भन्दै घर हिँडे ।

वार्षिक परीक्षापछि मामा घर जाने योजनामा रहेकी रमिता आचार्य कोरोनाको कारण जान पाइनन् । विराटनगर–१३ की रमिता बुबासँगै पसलमा बस्छिन् । कक्षा तीनमा पढ्ने उनी मोबाइलमा गेम खेल्दै दिन कटाउने गरेकी छन् । उनलाई परिवारबाट पनि बाहिर निस्कन बन्देज छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा अहिलेसम्म एक जना मानिसमा मात्र देखिएको छ । संक्रमण भेटिएको ती व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको रिपोर्टअनुसार नेपालमा अन्य संक्रमित भेटिएको छैन । संक्रमित नभेटिएपनि विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको उच्च जोखिममा नेपाललाई पनि राखेको छ ।

दीर्घ रोगीमा कोरोना संक्रमणको सम्भावना बढी हुन्छ । बालबालिकाहरूको सुरक्षामा अभिभावक चनाखो रहनुपर्छ । कुनै काम गरेर आएपछि वा अनुहार छोएपछि साबुन पानीले हात धोइरहे, भीडभाडबाट टाढा रहन सके, बाहिर निस्कँदा मास्क र स्यानीटाईजरको प्रयोग गरेमा यो रोगको संक्रमण कम गर्न सकिने कुरा विश्व स्वास्थ्य संगठन र चिकित्सकहरूले बताइरहेका छन् ।

Loading...