पढ्न गएका विद्यार्थी घर फर्काउन गाउँपालिकाले छुट्यायो ३० लाख

डोल्पा, १० चैत । डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ ।

काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो ।

गाउँपालिकाका अध्यक्ष अङ्गत रानाका अनुसार देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडाैं, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरू घर फर्कन चाहेकाले उनीहरूलाई फर्काउनका लागि बैठकबाट रु ३० लाख रकम छुट्याइएको हो ।

आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए ।

विद्यार्थीका लागि छुट्याइएको रु ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन खरिद गर्ने बताइएको छ । रासस

Loading...