कोरोना भाइरस : महामारी फैलिरहेको बेला मानसिक स्वास्थ्यको रक्षा

विराटनगर, १० चैत । कोरोना भाइरस संक्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ ।

यससम्बन्धी आएका समाचारले सबैलाई चिन्तित बनाइरहेको छ । यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ ।

बिबिसीका अनुसार अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन्छ ।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएको छ ।

ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरले अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने अवस्थाको भयले मानिसको चिन्तासम्बन्धी मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्ने विचार राखेका छन् ।

चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन् ।

कोरोनाको त्रास फैलिरहेको बेलामा मानसिक स्वास्थ्यको रक्षा गर्नका लागि आफूले पढ्ने, देख्ने र सुन्ने समाचारलाई सीमित तुल्याएर आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले राम्रो अनुभव भइरहेको छ कि छैन भनेर विचार गर्नु आवश्यक छ ।

यस्तोबेला धेरै झुटो समाचार र हल्ला फैलिरहेकाले सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू, विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस् ।

ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने अनलाइन पोर्टलहरू पछ्याउन छोडेर मानसिक शान्ति पाएका मानिसहरूको विषय पढ्नुहोस् ।

हात धुने गर्नुपर्छ तर, अतिचाहिँ गर्नु हुँदैन ।

अरु मानिससँग सामाजिक सञ्जाल र टेलिफोनमार्फत सम्पर्कमा बसिरहनुपर्छ ।

छुट्टिको समयमा किताब पढ्ने, पकाउन सकिने, किताब पढ्ने, जस्ता धेरै सिर्जनशील काम गर्न सकिन्छ ।

काम गर्नै पर्छ भनेर धपेडी नगर्नु होस्, थकान कम गरी शान्त रहनुहोस् ।

माईन्ड नामक मानसिक स्वास्थ्य संस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ ।

Loading...