कोभिड १९ : ढुवानी सेवा सञ्चालन गर्न आग्रह

काठमाडौँ, १० चैत । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो ।

गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो । महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै महासङ्घले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए ।

महासङ्घले आफ्नो संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोधसमेत गरेको छ । राजधानीलगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाई आवश्यक साथ र सहयोग गर्न महासङ्घ तल्लीन रहेको महासङ्घले जनाएको छ ।

Loading...