पाम तेलको निर्यात बढ्दै, लाइसेन्सको व्यवस्था हटाउन भारत सकरात्मक

विराटनगर, १० चैत । भारतले बिभिन्न बाहानामा प्रतिबन्ध लगाउँदै आएको पाम तेल निर्यात पुन सहज रुपमा हुन थालेको छ । नेपालबाट सबैभन्दा बढी निर्यातको सूचीमा पर्ने पाम तेल पुरानै लयमा फर्किएको व्यवसायी बताउँछन् ।

तेलको सबैभन्दा ठुलो बजार भारत हो । भारतले पुस २३ गते एक्कासि पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो । त्यस पछि कोटा तोकेर निर्यात भइरहेको तेल चालू आर्थिक वर्षको फागुनसम्म कुल १५ अर्ब ३५ करोड रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । यो पुसको तुलनामा करिब एक अर्ब ४६ करोड रुपियाँले बढी हो ।

माघ महिनामा भने पाम तेल निर्यात भएन । भारतको प्रतिबन्धपछि नेपालले बारम्बार पाम तेलको निर्यात खुलाउन आग्रह गरेको करिब डेढ महिनापछि भारतले त्यहाँका आयातकर्तालाई लाइसेन्स दिएर मात्र आयात गर्न सक्ने व्यवस्था लागू गरेको थियो । यद्यपि अहिले उक्त लाइसेन्सको व्यवस्था भारतले रोकेको छ । नेपालले त्यस्तो लाइसेन्स खुलाउन पनि भारतसँग आग्रह गरिसकेको छ । भारतले यसमा सकारात्मक प्रतिक्रिया जनाएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको फागुनसम्मको व्यापारसम्बन्धी तथ्याङ्क अनुसार नेपालको निर्यात अघिल्लो फागुनको तुलनामा २२.३५ प्रतिशतले बढेर ७४ अर्ब ९० करोड रुपियाँ पुगेको छ । गत फागुनमा नेपालबाट ६१ अर्ब २२ करोड रुपियाँको निर्यात भएको थियो । नेपालबाट धेरै हुने वस्तुमा पाम तेल सबैभन्दा अगाडि छ । त्यसपछि सात अर्ब ५२ करोड रुपियाँको सोयाबिन तेल निर्यात भएको छ ।

Loading...