नेयमारका लागि बार्सिलोनाले ग्रिजम्यान बेच्ने

एजेन्सी, १० चैत । बार्सिलोनाले हालै प्रतिद्वन्द्वी क्लब एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको फरवार्ड एन्टोनी ग्रिजम्यानलाई पनि बेच्ने भएको छ ।

यसअघि इभान राकिटिक र ओसमान डेम्बेले बेच्ने योजना बनाएको बार्सिलोना ग्रिजम्यानलाई पनि बेच्ने तयारी गरेको स्पेनिस पत्रिका ‘डायरिओ स्पोर्ट्स’ले जनाएको छ ।

बार्सिलोनाले उनलाई यसै सिजनमा एथ्लेटिकोबाट क्याप नोउ ल्याएको थियो ।

विश्वकप विजेता ग्रिजम्यानको प्रर्दशन अपेक्षानुरुप नभएको भन्दै बार्सिलोनाले उनलाई बेचेर अर्का स्टार खेलाडी अनुबन्ध गर्ने योजना बनाएको डायरियो स्पोर्ट्सको दाबी छ ।

बार्सिलोनाबाटै प्रकाशित हुने उक्त पत्रिकाका अनुसार १०० मिलियन पाउण्डभन्दा माथिको प्रस्ताव आएमा फ्रान्सेली स्टार ग्रिजम्यानलाई बेच्न आफू तयार रहेको जनाएको छ ।

खबरका अनुसार ग्रिजम्यानलाई बेचेर बार्साले पूर्वखेलाडी तथा ब्राजिलियन स्टार नेयमार अनुबन्ध गर्ने योजना बनाएको छ ।

Loading...