राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, आजबाट चीन र भारतसँगको सबै नेपाली सीमा नाका बन्द

काठमाडौं, १० चैत । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणको लागि केन्द्रीय कोष स्थापना गरेको छ । कूल ५० करोड रुपैयाँ राशि राखेर शुरू गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरूको एक महिनाको तलब जम्मा गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमवार बिहान १० बजेबाट लागू हुने गरी दुवै छिमेकी मुलुकका सम्पूर्ण नाकाबाट हुने यात्रु आवागमन एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । यद्यपी सीमा वारपारको ढुवानी भने नियमित हुने जनाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार नियमित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेपछि राष्ट्रपतिलाई भेटेको यो पहिलोपटक हो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवातौ नियमित भएको र उनीहरूबीच समसामयीक विषयमा करिब डेढ घन्टा कुराकानी भएको जानकारी राष्ट्रपतिका मुख्य निजी सचिव डा। भेषराज अधिकारीले जानकारी दिए ।

नेपालको संविधानअनुसार प्रधानमन्त्रीले सरकारबाट भएका कार्यहरूबारे राष्ट्रप्रमुखलाई जानकारी गराउने प्रचलन भएअनुसार नै राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...