संक्रमित वस्तु छोएमा पनि सर्छ भाइरस

विराटनगर, ९ चैत । कोरोना भाइरस अर्थात् कोभिड–१९ ले श्वासप्रश्वास प्रणालीलाई बढी प्रभावित पार्दछ ।

त्यसैले संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा मुखबाट निस्कने साना–साना थुक र सिंगानका कणहरू हावाको माध्यमबाट नजिकै बसेको अर्को मानिसले श्वास लिँदा सर्न सक्छ ।

यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरूमा अड्कन वा केही हावामै रहन सक्छ । एक मिटरको दूरीमा बसेका मानिसमा भाइरस सर्ने सम्भावना उच्च रहन्छ ।

मानिस भीडभाड भएको स्थान वा कोठामा, उचित भेन्टिलेसन नभएको कोठामा वा हलमा पनि कुनै एकजनाले हाच्छ्यूँ गर्दा वा खोक्दाखेरी निस्कने थुकका मसिना छिटा उछिट्टिएर धेरै जनालाई सर्न् सक्छ ।

संक्रमित मानिसले खोक्दा वा हाच्छ्यूँ गर्दा मुख छोप्दा हातमा, लुगा वा रुमालमा पनि भाइरस टाँसिन सक्छ ।

संक्रमितले हातमा खेलाउने मोबाइल, कलम, कागज, ल्यापटप, किबोर्डलगायत अन्य सामानमा पनि भाइरस टाँसिन पुग्दछ ।

त्यसैले त्यस्ता संक्रमितसँग अरुले हात मिलाउँदा, संक्रमितको मोबाइललगायत अन्य सामान चलाएमा पनि भाइरस सर्ने सम्भावना उच्च रहन्छ ।

संक्रमित ठाउँ वा सामाग्री जस्तै ढोकाको हेण्डल, रेलिङ जस्ता वस्तुमा पनि भाइरस टाँसिन्छन् ।

स्वस्थ व्यक्तिले यदि संक्रमित वस्तु छोएमा भाइरस हातमा टासीन्छ र उक्त प्रदूषित हातले आफ्नो नाक मुख छुँदा भाइरस सजिलै शरीरभित्र पस्ने गर्छ ।

पशुपंक्षी छोएमा, मासु अण्डा राम्ररी नपकाइ खाएमा पनि भाइरस सर्ने सम्भावना हुन्छ ।

सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड–१९ बाट बच्नका लागि आवश्यक भएको बताउँदै आएका छन् ।

त्यसैले, पटकपटक साबुन पानीले हात धोएर र सजिले उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट सतहमा रहेका भाइरसलाई छिटै मार्न सकिन्छ ।

Loading...