युवाहरूमा पनि कोरोना भाइरस संक्रमणको जोखिम

विराटनगर, ९ चैत । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको बताएको छ ।

युवाहरूको व्यवहार अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने बताउँदै वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले आग्रह गरेका छन् ।

कोरोना भाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै देशहरूमा युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि डब्ल्यूएचओका प्रमुखले आग्रह गरेका हुन् ।

अनलाइन पत्रकार सम्मेलनमा डा. टेड्रोस एड्हानोम गेहब्रेयससले आफूसँग युवाहरूको लागि सन्देश छ र युवाहरू जोखिममुक्त नभएको र यो भाइरसले सबैलाई हप्तौँसम्म अस्पतालमा राख्न र मार्न पनि सक्ने बताएका छन् ।

उनले तपाइँ बिरामी नभएपनि तपाईं को के गर्ने भन्ने निर्णय अन्य व्यक्तिका लागि जीवन वा मरणको सवाल बन्न सक्ने हुँदा सतर्क रहन सुझाएका छन् ।

रोयटर्सका अनुसार डब्ल्यूएचओले भाइरसको संक्रमण रोक्न सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी राख्नुपर्ने सुझाव दिन थालेको छ ।

वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक भएपनि अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको संक्रमण हुनसक्ने देखाइ सकेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार चीनमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिको मृत्युदर एक प्रतिशतभन्दा, र ८० वर्ष उमेर नाघेका १५ प्रतिशत रहेको छ ।

Loading...