‘प्रिमियर लिगको उपाधि लिभरपुलले जित्ने’

एजेन्सी, ९ चैत । म्यानचेस्टर युनाइटेडका पूर्वस्टार वायने रुनीले प्रिमियर लिगको उपाधि लिभरपुलले जित्ने बताएका छन् ।

हालै दिएको एक अन्तर्वार्ताका क्रममा रुनीले लिभरपुल प्रिमियर लिगको हकदार भएको बताए ।

‘प्रिमिर लिगको उपाधि लिभरपुलले जित्नेछ’, उनले भने, ‘किनकी लिभरपुलको यो वर्ष उत्कृष्ट छ । उनीहरूले धेरै मेहेनत गरेका छन् ।’

खबरहरूका अनुसार ३० वर्षपछि प्रिमियर लिगको उपाधिको नजिक रहेको लिभरपुलले लिगको उपाधि गुमाउन सक्ने सम्भावना देखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण सिजन रद्ध भए लिभरपुलले उपाधि हात पार्ने खबर बाहिरिएका थिए ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकको अग्रता बनाएको लिभरपुललाई च्याम्पियन बनाउने आन्तरिक तयारी भएको बताइएको थियो ।

तर, युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष एलेक्सान्डर सेफेरिनले सोखबरको खण्डन गर्दै प्रिमियर लिग रद्ध भए लिभरपुलले उपाधि पाउने सम्भावनालाई अस्वीकार गरेका छन् ।

आफूहरूको उद्देश्य लिग समाप्त गर्नु रहेको र कुनै संघ र लिगलाई लिग यथास्थितिमा सकाउन सल्लाह नदिएको उनको भनाइ छ ।

यसैकारण लिभरपुलको उपाधि गुम्न सक्ने देखिएको छ ।

तर, रुनीले भने यूईएफएले सही निर्णय गर्नुपर्ने बताएका छन् ।

‘उनीहरू उपाधिको हकदार हुन् । ३० वर्षपछाडि उनीहरूले उपाधि पाउँदैछन् । यसका लागि यूईएफएले सही निर्णय गर्नुपर्छ ,’ उनले भनेका छन् ।

Loading...