कोरोना भाइरस ढोकाका चुकुल, ह्यान्डल, किबोर्डहरूमा लामो समय जीवित रहन्छ

विराटनगर, ९ चैत । कोरोना भाइरस सङ्क्रमण फैलिइरहेको समयमा हामी दिनहुँ सम्पर्कमा आउने विभिन्न वस्तुको सतहहरूसँगको डर बढिरहेको छ ।

मानिसमा हुने श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूमा जस्तै कोभिड–१९ पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ ।

र, एकपटक खोक्दा मानिसको मुखबाट ३,००० थोपा निस्कने हुन्छ ।

कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ ।

यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहहरूमा अड्कन वा केही हावामै रहन सक्छ ।

मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ ।

इरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले बताएको छ ।

तर, सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड–१९ बाट बच्नका लागि आवश्यक भएको बताउँदै आएका छन् ।

कोभिड–१९ रोग लगाउने सार्स कोभ २ नामक भाइरस मानव शरीरबाहिर कति बाँच्न सक्छ भन्ने कुरा भने स्पस्ट भएको छैन ।

कोरोना भाइरसमाथि गरिएको अध्ययनहरूले भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ ।

जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्ने र बढी तापक्रम र आर्द्रता भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्ने पनि बताइएको छ ।

न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा सार्स कोभ २ कति बाँच्न सक्छ भन्ने अध्ययन निष्कर्षमा भाइरस हावामा तीन घण्टासम्म, कागजमा २४ घण्टासम्म, प्लास्टिक र स्टीलको सतहमा २–३ दिनसम्म तथा तामाको सतहमा चार घण्टा जीवित रहने देखाएको छ ।

यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर किबोर्डहरूमा लामो समय जीवित रहन सक्छ ।

तर, सजिले उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ ।

कोरोना भाइरस लुगामा कति समय जीवित रहन्छ भन्ने कुरा स्पष्ट भनिएको छैन ।

कोरोनाभाइरसहरू अन्य भाइरसभन्दा धेरै बाँच्न सक्ने हुँदा अध्ययनकर्ताहरू थप अध्ययन गरिरहेका छन् ।

Loading...