राज्यमन्त्रीले गरिन् अस्पतालमा बन्धक सुत्केरी महिलाको उद्दार

उपचार खर्च सरकारले व्यहोर्ने

विराटनगर, ९ चैत । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विराटनगर अस्पताल (विराट नर्सिहोम)मा एक महिनायता बस्न बाध्य सुत्केरी महिलाको उद्दार गरेकी छन् ।

शनिबार कोशी अनलाइनमा समाचार प्रकाशित भएपछि आइतबार बिहानै अस्पताल पुगेकी राज्यमन्त्री गजमेरले २९ माघदेखि अस्पतालमा बस्न बाध्य सुत्केरी महिला चेली सुन्दास राजवंशीको उद्दार गरेकी हुन् ।

झापा बिर्तामोड नगरपालिका–५ अदूवा खोला नजिकै रहेको सुकुम्बासी टोलकी २२ वर्षीया चेली र उनको सासूआमा अमृता सुन्दासएक महिनायता अस्पतालमा बस्न बाध्य थिए ।

शनिबार कोशी अनलाइनले ‘उपचार खर्च तिर्न नसक्दा विराट नर्सिङहोममा सुत्केरी बुहारी र सासु भोकभोकै’ शीर्षकमा समाचार प्रकाशित भएपछि राज्यमन्त्री अस्पताल पुगेकी थिइन् ।

अमृता सुन्दास, सत्केरीकी सासू

सुत्केरी महिलाको उपचारमा १ लाख ५८ हजारको बिल उठेको थियो । प्रदेश सरकारले एक लाख रुपैयाँ तिरिदिने भएपछि उनीहरूको डिस्चार्ज भएको हो ।

राज्यमन्त्री नै अस्पताल पुगेपछि अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले कागजी प्रक्रिया पूरा गरी डिस्चार्ज दिएका थिए ।

२९ माघमा सात महिनामै प्रसूति हुँदा आमा र बच्चाको अवस्था नाजुक भएपछि चेलीलाई लिएर उनका श्रीमान् २६ वर्षीय अनिल र सासूआमा अमृता अस्पताल आएका थिए । थप उपचार पाउना नसक्दा बच्चाको मृत्यु भयो ।

आमालाई भने अस्पतालले एकसातापछि डिस्चार्ज दिएको थियो । तर उपचार खर्च तिर्न नसक्दा बन्धकसरह बसिरहेका थिए । सुकुम्बासी टोलमा घर भएका अमृताको परिवार खर्च तिर्न सक्ने अवस्थामा थिएनन् ।

खाना खर्च सकिएपछि सासू अमृताले होटलमा भाडा माझेर सुत्केरी बुहारीका लागि खाना खुवाउने गरेकी थिइन । तर बिल नतिरेको र मदिरा सेवन गरेको भन्दै अस्पताल प्रशासनले होटललाई काम नदिन भनेपछि उनीहरू भोकै परेका थिए ।

Loading...