सेल्फ क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

विराटनगर, ९ चैत । क्वारेन्टाइन ती व्यक्तिहरूका लागि हो, जुन भाइरसको संक्रमणबाट सम्भावित हुन सक्छन् ।

कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्नुलाई सजिलो भाषामा क्वारेन्टाइन भनिएको हो ।

अयाधिक भीडभाड भएको ठाउँ वा संक्रमणको जोखिम देखिएमा ज्वरो तथा लक्षण नदेखिएकालाई समेत १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ ।

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा बस्नका लागि विभिन्न नियमहरूको पालना गर्नु पर्ने हुन्छ ।

आफ्नै घरमा क्वारेन्टाइनमा बस्दा हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने र छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने गर्नुपर्छ ।

यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं राम्ररी सफा गर्नुपर्छ ।

परिवार धेरै भएमा र घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गरी अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्नुपर्छ ।

नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने, र आफूले प्रयोग गर्ने सामान अरुलाई प्रयोग गर्न नदिने ।

खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले छोप्ने नाकमुख छोप्ने, प्रयोग गरेको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र हात साबुनपानीले धुने गर्नुपर्छ ।

स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने र केही सामान लिनुपरे परिवारका अन्य सदस्यलाई भन्ने र सम्पर्कमा आउनु पर्दा कम्तिमा ३ मिटरको दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने गर्नुपर्छ ।

क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र लक्षणहरू देखे स्वास्थ्यकर्मीहरूलाई खबर गरेर मात्र स्वास्थ्य संस्था जाने ।

आफ्नो शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउनका लागि पोषणयुक्त खानेकुरा, भिटामिन सी भएका फलफूल तथा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

Loading...