कोरोना भाइरस (कोभिड–१९) बारे सामान्य जानकारी

डा. नवराज सुब्बा, जनस्वास्थ्य विशेषज्ञ

कोरोना भाइरस के हो ?

कोरोना एक ल्याटिन शब्द, जसको शाब्दिक अर्थ हुन्छ – मुकुट । यान्त्रिक आँखाले हेर्दा यसको बनावट मुकुट आकारको देखिएकोले यसलाई कोरोना भाइरस भनिएको हो । कोरोना भाइरसहरूले मानिसमा सामान्य रुघाखोकीदेखि निमोनिया, र झाडापखाला जस्ता घातक रोगहरू लगाउँछन् । यसअघि भेटिएको सार्स र मर्स कोरोना भाइरसझैं यसको आकार मुकुटझैं देखिएता पनि केही भिन्न भएकोले यसलाई नयाँ अर्थात् नोभल कोरोना भाइरस भनिएको हो ।

यो भाइरसले गत वर्ष डिसेम्बरको अन्तिम दिन अर्थात् डिसेम्बर ३१, २०१९ देखि चीनको हुबेइ प्रान्तको उहान सहरमा रुघाखोकी निमोनियाका बिरामीमा स्वास फेर्न गाह्रो हुने रोगको महामारी ल्यायो । यो भाइरसको सर्ने दर यति छिटो भयो कि डढेलो सल्केझैं समुदायमा महामारी फैलियो र यसले हजारौं मानिसको ज्यान लियो ।

यो भाइरसलाई सदा नौलो वा नोभल कोरोना भन्नु उपयुक्त नहुने भएकाले गत फब्रुअरी ११, २०२० का दिन वैज्ञानिकहरूले यसको नाम कोभिड–१९ राखिदिए । यसर्थ यसलाई सामान्य बोलिचालिमा कोरोना भाइरस भनिएता यसको प्राविधिक नाम कोभिड–१९ ले सम्बोधन गर्ने गरिन्छ ।

यो किन यति डरलाग्दो भयो ?

नव वर्ष २०२० को आरम्भमै चीनको उहान शहरमा कोभिड–१९ रोगको प्रकोपले जनजीवन तहसनहस बनायो । उक्त शहर महामारीको केन्द्र भयो र चीनका अन्य भाग र अन्य देशमा पनि यो भाइरस द्रुतगतिमा फैलियो । मार्च २०, २०२० सम्मको तथ्यांकअनुसार चीनमा ८१ हजार ३०० जनालाई यो भाइरसले संक्रमण गर्‍यो र ३ हजार २ सय ५३ जनाको ज्यान लियो । त्यसपछि एशियाका दक्षिण कोरिया, जापान, मलेसिया, सिंगापुर, फिलिपिन्स, भियतनाम लगायतका देशलाई प्रभावित पार्‍यो ।

हाल चीन यो रोगको नियन्त्रणमा अभूतपूर्व सफलता हासिल गरी रिकभरी चरणउन्मुख भएको छ । तर यो भाइरस हाल यूरोप र अमेरिकालगायत विश्वका १ सय ८६ मुलुकमा फैलिसकेको अवस्था छ । उक्त तथ्यांकअनुसार इटालीमा ४१ हजार ३५ जना संक्रमित भएकोमा ३ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । स्पेनमा १७ हजार १ सय ४७ जना संक्रमित भएकामा ७ सय ६७ जनाको मृत्यु भएको छ । यसैगरी जर्मनीमा १० हजार ९ सय ९९ जना संक्रमित भएकोमा २० जनाको मृत्यु भएको छ ।

बेलायतमा ३ हजार २ सय ७७ जना बिरामी भएकोमा १ सय ४४ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १० हजार ४ सय ४२ जना संक्रमित भएकोमा १ सय ५० जनाको मृत्यु भएको छ । हालसम्म भारत र नेपालमा यो रोगको संक्रमण दर तुलनात्मक रूपमा कम छ । भारतमा १ सय ९५ जनामा संक्रमण पाइएकोमा ४ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १ जनामा मात्र यो भाइरसको संक्रमण पत्ता लागेको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट कसैको मृत्यु भएको छैन ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्यांकको आधारमा मार्च २०, २०२० सम्ममा विश्वमा कोभिड–१९ बाट २ लाख ३३ हजार ३ सय ६१ जना संक्रमित भएको र जम्मा ९ हजार ८ सय ४० जनाको मृत्यु भएको छ । विशेषज्ञअनुसार यो रोग संक्रमितमा १०० मध्ये ८० जनालाई सामान्य उपचारले निको हुने, बाँकी २० जनामा ५ जनालाई मात्र विशेष स्वास्थोपचार दिनुपर्ने हुन्छ । बृद्धबृद्धा, दीर्घरोगी, चिनीरोग, उच्च रक्तचाप भएका मानिसलाई जोखिम बढी हुने पाइएको छ ।

यो भाइरस कसरी आयो ?

यो कोरोन भाइरसको प्रजाति जंगली जनावरमा पाइन्छ । कोभिड–१९ भाइरस चमेरामा पाइने भाइरस भएकाले त्यहाँबाट मानिसमा सरेको विश्वास गरिन्छ ।

यो भाइरस कसरी सर्दछ ?

यो रोग कोभिड–१९ भाइरसले श्वासप्रश्वास प्रणालीलाई नै बढी प्रभावित पार्दछ । यसैले उक्त व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा मुखबाट निस्कने साना–साना थुक र सिंगानका कणहरू हावाको माध्यमबाट नजिकै बसेको अर्को मानिसले श्वास लिँदा सर्दछ । एक मिटरको दूरीमा बसेका मानिसमा भाइरस सर्ने सम्भावना उच्च रहन्छ । संक्रमित मानिसले खोक्दा वा हाच्छ्यूँ गर्दा मुख छोप्दा हातमा, वा रुमालमा पनि यो भाइरस सर्दछ ।

संक्रमितले हातमा खेलाउने मोबाइललगायत अन्य सामानमा पनि भाइरस टाँस्सिन पुग्दछ । त्यसैले त्यस्ता संक्रमितसँग अरुले हात मिलाउँदा वा संक्रमितको रुमाल वा मोबाइल वा अन्य सामान चलाएमा पनि भाइरस सर्दछ । संक्रमित ठाउँ वा सामाग्री जस्तै ढोकाको हेण्डल, रेलिङ जस्ता वस्तुमा पनि भाइरस टाँसिन्छन् ।

स्वस्थ व्यक्तिले यदि संक्रमित वस्तु छोएमा भाइरस हातमा सर्दछ र उक्त प्रदूषित हातले आफ्नो नाक मुख छुँदा भाइरस सर्दछ । पशुपंक्षी छोएमा, मासु अण्डा राम्ररी नपकाइ खाएमा पनि भाइरस सर्ने सम्भावना हुन्छ ।

के यो भाइरस हावाबाट सर्दछ ?

संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा एक मिटरको दूरीभित्र बस्नेलाई मात्र यो हावाको माध्ययबाट सर्दछ । मानिस भीडभाड भएको स्थान वा कोठामा, उचित भेन्टिलेसन नभएको कोठामा वा हलमा पनि कुनै एकजनाले हाच्छ्यूँ गर्दा वा खोक्दाखेरी निस्कने थुकका मसिना छिटा उछिट्टिएर धेरै जनालाई सर्दछ । यसैले संक्रमितले मास्क लगाउन जरुरी छ । सबैले एकमीटरको दूरी राखेर कुराकानी गर्न वा बस्न जरुरी छ ।

यो रोगको सर्ने अवधि कति दिन हो ?

यो रोग भाइरस सरेको १ देखि १२.५ दिन भित्रमा रोगका लक्षण देखिन्छन् । यसलाई इन्कुबेसन पिरियड भनिन्छ । यसैले संक्रमित क्षेत्रबाट भित्रेका मानिसलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राख्ने गरिन्छ ।

यो भाइरसले लगाउने रोगका लक्षण के के हुन् ?

यसका सामान्य लक्षणहरू – ज्वरो आउने, खोकी लाग्ने, छोटो छोटो श्वास हुने अर्थात् श्वास फेर्न गाह्रो हुने हुन् । कडा लक्षणहरूमा – निमोनिया, मृगौलाले काम गर्न छाड्ने, र मृत्यु हुन सक्छ ।

यो भाइरस कसरी पत्ता लगाइन्छ ?

यो प्रयोगशालामा परीक्षणबाट पत्ता लाग्दछ । यसको लागि मुख, नाकबाट नमूना संकलन गरिन्छ । जुन प्रविधिलाई पिसिआर तथा जेनेटिक फिङ्गर प्रिन्ट विधि भनिन्छ ।

रोगीको परिभाषा

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई विरामी पत्ता लगाउन तथा उपचार गर्न रोगीको परिचालानात्मक परिभाषा (अपरेशनल डिफिनेशन) तय गरेको छ । जसअनुसार (१) ज्वरो आएका मानिस जसलाई खोकी लागेको वा स्वास फेर्न गाह्रो भएकामध्ये कुनै एक लक्षण पनि देखिएर अस्पताल भर्ना गर्नुपर्ने स्थितिमा पुगेका लक्षण देखा पर्नु १४ दिनअघिसम्म रोग फैलिएको क्षेत्रमा बसेका वा पुगेर आएका, परीक्षण गर्दा अन्य रोगको कारण पत्ता नलागेका मानिस कोविड–१९ रोग लागेको परिभाषाअन्तर्गत पर्दछन् ।

तिनलाई तत्काल आवश्यक उपचार र निगरानी गरिन्छ । वा (२) श्वासप्रश्वास रोगको लक्षण जस्तै ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न गाह्रो हुने लक्षणमध्ये कुनै एक लक्षण देखिएका मानिसले लक्षण देखापर्नु १४ दिनअघिसम्म शंकास्पद वा कोभिड–१९ बिरामीलाई स्याहारसुसार वा सम्पर्कमा रहेको भएमा वा विरामी उपचार गर्ने स्वास्थ्यकर्मी भएमा त्यस्ता मानिसलाई पनि कोभिड–१९ बिरामी परिभाषित गरी उपचार र निगरानी गरिन्छ । वा (३) अस्पताल भर्ना गर्नुपर्ने ज्वरो, खोकी, श्वास फेर्न गाह्रो हुने कडा श्वासप्रश्वास रोग लागेका जसको कारण अन्य कुनै रोग पत्ता नलागेका बिरामीलाई पनि कोभिड–१९ परिभाषित गरेको छ ।

यसको उपचार के हो ?

यसको औषधी हालसम्म उपलब्ध छैन । यस अवस्थामा बिरामीको लक्षणअनुसार सहयोगी उपचार विधि अपनाइन्छ । जस्तै श्वास फेर्न गाह्रो भएमा त्यसको उपचार गर्ने, ज्वरो भएमा ज्वरो कम गर्ने औषधि दिने, ब्याक्टेरियल संक्रमण भएमा एन्टिबायोटिक दिने तथा शरीरलाई रोगविरुद्ध लड्न सहयोगी उपचार गर्ने । यसको उपचारको लागि खास औषधि र भ्याक्सिनको आविष्कार गर्न वैज्ञानिकहरू दिनरात खटिएका छन् ।

यो रोगबाट कसरी बच्ने ?

१. संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा रुमालले मुख छोप्ने वा मास्क लगाउने । मास्क वा रुमाल नभएमा नाक मुखलाई आफ्नो दायाँ वा वायाँ कुइँनामुनि लुकाएर मात्र खोक्ने वा हाच्छ्यूँ गर्ने । शिष्टाचार स्वरुप अभिवादन गर्दा नमस्ते गर्ने हात नमिलाउने, अंकमाल नगर्ने ।

२. संक्रमित मानिसको नजिक नजाने । घरमा शंकास्पद सदस्यलाई हेरचाह गर्दा दूरीमा राख्ने ।

३. बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा घरपरिवारका सदस्यले बिरामी र आफूले सही ढंगले मास्क लगाउने र सुरक्षित रहने ।

४. संक्रमितलगायत सबैले आफ्नो हात बारम्बार साबुन पानीले धुने । यसो गर्नाले संक्रमित मानिससित सम्पर्क हुँदा हातमा टाँसिएका भाइरस पखालिन्छ । संक्रमितले खोक्दा हाच्छ्यूँ गर्दा टाँसिएर बसेका सामान वा स्थान छुँदा हातमा सरेको भए उक्त भाइरस पनि सफा हुन्छ ।

यो भाइरस जीवजन्तुमा पनि पाइने भएकाले कुनै पनि जीवजन्तु छोएर वा माछा, मासु छोएर पनि भाइरस सर्ने हुँदा सही ढंगले हात धोएमा हातमा टाँसिएर आफ्नै हातले नाक र मुख छुँदा सर्ने हुँदा त्यो क्रम पनि साबुन पानीले हात धुँदा भाइरस पखालिएर जान्छ । अरु बेलामा आफ्नो हात नाक वा मुखमा लाने बानी भएमा त्यो तुरुन्त हटाउने ।

५. माछा, मासु, अण्डा राम्ररी पकाएर मात्र खाने ।
६. बिसञ्चो भएमा घरमा आराम गर्ने ।
६. यदी ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा तुरन्त स्वास्थ्य उपचार सेवा लिने । उपचारका क्रममा चिकित्सक वा स्वास्थ्यकर्मीलाई आफू कुनै ठाउँमा यात्रा गरेको भएमा उक्त कुरा पनि बताउने ।

अन्त्यमा, हाम्रो मुलुक अहिले विश्वव्यापी कोविड–१९ महामारी नियन्त्रणको आरम्भिक रोकथाम र तयारीको चरणमा छ । संक्रमित व्यक्तिलाई सकभर छिर्न नदिने, सम्भावित क्षेत्रबाट भित्रेकालाई क्वारेन्टाइनमा राख्ने । संक्रमित छिरेमा तुरुन्त पत्ता लगाएर उपचार गर्ने र अलग राख्ने जस्ता सम्बोधनात्मक चरण पनि आरम्भ भएको छ । यो चरणले भोलि यदि महामारी भएको खण्डमा बिरामीको उपचार गर्न र समुदायलाई रोगबाट बचाउन सहज हुनेछ । यसबाट भविष्यमा मुलुकलाई रिकभरी अर्थात् मुक्त वा नियन्त्रणको चरणमा पुर्‍याउन सकिन्छ ।

आज विश्व समुदायले विश्वव्यापी चुनौती सामना गर्न विश्वका सबै मुलुकको भूमिका र योगदानको मूल्यांकन गरिरहेको छ । यस क्रममा रोग सर्नेदर बढाउन भीडभाडले ठूलो भूमिका खेल्ने भएकाले अहिले विभिन्न मुलुकले रणनीतिको रूपमा लक–डाउन र कफर््यू जस्ता कठोर प्रतिकारात्मक उपाय अपनाउन बाध्य भएका छन् । यो विश्वव्यापी अभियानमा हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । आतंकित हैन सचेत र सतर्क रहौं । शुभकामना ।

(स्रोत – विश्व स्वास्थ्य संगठनको सूचना सामग्री तथा प्रोटोकलमा आधारित)

Loading...