डेबालालाई कोरोना संक्रमण भएको खुलासा

एजेन्सी, ९ चैत । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबालाले आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको खुलासा गरेका छन् ।

शनिबार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै अर्जेन्टिनी स्टार डेबालाले आफूलाई कोरोना संक्रमण भएको खुलासा गरेका हुन् ।

उनले ट्वीटमा आफूलाई कोरोनाको संक्रमण भएको तर हाल स्वास्थ्यस्थिति राम्रो रहेको उल्लेख गरेका छन् ।

यसअघि उनलाई कोरोनाको संक्रमण भएको खबरले चर्चा पाएको थियो । तर, केही मिडियाले उनलाई संक्रमण नभएको उल्लेख गरेका थिए ।

यस्तैमा डेबालाले आफूले कोरोनाको परीक्षण गराउँदा पोजिटिभ देखिएको बताएका छन् ।

‘म सबैलाई जानकारी गराउन चाहन्छु कि मैले कोरोनाको परीक्षण गराएको थिएँ । र, रिपोर्टमा पोजिटिभ देखिएको थियो,’ उनले ट्वीटरमा लेखेका छन् ।

यसैगरी डेबालाले उनकी पत्नि ओरियानालाई पनि कोभिड संक्रमण भएको खुलासा गरेका छन् ।

उनले लेखेका छन्, ‘ओरियाना र म दुवैले गराएको परीक्षणमा पोजिटिभ देखिएको थियो । भाग्यवस हाल हामी दुवैको स्वास्थ्यस्थिति राम्रो छ । तपाईंहरूको सन्देशका लागि धन्यवाद ।’

डेबाला कोरोना संक्रमण हुने युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि डेनियल रुगानी र ब्लाइसे माटुइडीलाई कोरोनाको संक्रमण भएको थियो ।

Loading...