कोरोनाबाट जोगिन सरकारको आग्रह कार्यान्वयनमा जोड

काठमाडौं, ८ चैत । काठमाडौं उपत्यका भित्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न अपिल गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुले अपिल गरेका हुन् ।

शनिबार काठमाडौंको मण्डिखाटारमा भएको सांसदहरुको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।

भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदम, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको जनाकारी दिए ।

सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा उनको जोड छ ।

‘कोभिड १९ कोरोना भाइरसको बारेमा र यसको असरका बारेमा सरकारले चालेका कदमहरुको बारेमा, जनतामा जगाउनुपर्ने जनचेतनाको बारेमा र यसलाई रोकथाम गर्ने उपायको बारेमा, रोग लागिसकेपछि नियन्त्रण गर्नका लागि उपचारको प्रबन्धको बारेमा यी सबै चिजहरुको बारेमा छलफल ग¥यौं ।’ उनले भने ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउनु आग्रह गर्ने विषयमा छलफल भएको बताए ।

उनले नेपाल भारत सिमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको बताए ।

Loading...