बेसार, तुलसी कोरोना भाइरसको औषधि होइन

विराटनगर, ८ चैत । विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालमा नदेखिए पनि संक्रमण फैलिनसक्ने जोखिम बढ्दै गएको देखिन्छ ।

कोरोना भाइरस फैलिन सक्ने डरका बीचमा यस विषयमा विभिन्न भ्रम पनि फैलिइरहेका छन् ।

अविश्वसनीय अनलाइन पोर्टलहरूले के गर्दा, के खादा कोरोना भाइरस लाग्दैन भन्ने भ्रम कोरोनाभन्दा तीब्र रूपमा फैलिएको देखिन्छ ।

यसैबीच विभिन्न जडिबुटी सेवन गर्दा कोराना भाइरसबाट बच्न सकिन्छ वा संक्रमण हुँदैन भन्ने भ्रम फैलिरहेको छ ।

धेरैजसोले माछा, मासु तथा अण्डा खाँदा कोरोनाको जोखिम बढ्ने तर, बेसार पानी, तुलसी पानी, मरिचको चिया, तथा अन्य जडिबुटीको सेवनले कोरोना भाइरसले संक्रमण नगर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

तर, यो सबै एक भ्रममात्र रहेको छ । कोरोनाबाट बच्नका लागि माछा, मासु तथा अण्डालाई राम्ररी पकाएर खाए कोरोनाको संक्रमण हुँदैन ।

तर, कोरोनाको कुनै पनि उपचार पद्धति विकास नभएको कारण जडिबुटीले कोरोना निको नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले बताएका छन् ।

कोरोना भाइरसबाट प्रभावित हुनेमा धेरै व्यक्तिको रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर रहेको देखिएको छ ।

नेपाली भान्सामा प्रयोग हुने मरिच, सुठो, पिप्ला, बेसर र तुलसी, अमला, बोजो, असुरो, बेसार गुर्जो, टिमुर दिनहुँ प्रयोग गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास हुने बताए ।

Loading...