ट्रम्पले ‘चिनियाँ भाइरस’ भनेपछि डब्लूएचओले दियो चेतावनी

एजेन्सी, ७ चैत । विश्व स्वास्थ्य संगठनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको छ ।

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दा एसियनहरूलाई रंगभेदी सन्देश जान सक्ने हुदा डब्लूएचओले ट्रम्पलाई चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार एक ट्वीटमार्फत कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’का नामले चिनाएका थिए ।

अमेरिकी प्रशासनका धेरै अधिकारीहरूले पनि यसलाई ‘चिनियाँ भाइरस’ भनेर सम्बोधन गरिरहेका थिए ।

भाइरसले कुनै सीमा, जात, छालाको रंग वा तपाईंसँग बैंकमा कति पैसा छ भन्ने मतलब नगर्ने हुँदा हामीले बोल्दा भाषा र शब्द छनौट गर्दा ध्यान पुर्‍याउनुपर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओका आकस्मिक कार्यक्रमका निर्देशक डा. माइक रायनले बताएका छन् ।

उनले ट्रम्पको उक्त शब्द छनौटले एसियाली मूलका मानिसहरूविरुद्ध हिंसा भड्काउने खतरा देखिन्छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दा चीनले आपत्ती जनाएको थियो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।

तर, ट्रम्पले भने चीनबाट उत्पत्ति भएका कारण यो भाइसरलाई चिनियाँ भाइरस भनिएको र यसले रंगभेदी टिप्पणी नभएको दाबी गर्दै आएका छन् ।

Loading...