‘प्रेमगीत ३’ अब निर्धारित समयमा प्रदर्शन नहुने

विराटनगर, ७ चैत । कोरोना संक्रमण फैलिने डरका कारण देशभरका सिनेमा हल बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारको निर्णयसँगै रिलिज मिति नजिकिएका तथा तय गरिसकेका फिल्महरू स्थगित भएका छन् ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेमगीत ३’ अब निर्धारित समयमा प्रदर्शन नहुने भएको छ । योसँगै फिल्म ‘चपली हाइट ३’, ‘लक्का जवान’, ‘नीरफूल’को प्रदर्शन मिति पनि स्थगित गरिएको छ ।

१०० दिन लगाएर शुटिङ सकिएको फिल्म ‘प्रेमगीत ३’ अब चैत्र २८ मा रिलिज नहुने फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

फिल्म रिलिज भएको भए पनि सबै काम सक्न गाह्रो पर्ने र यतिबेला फिल्मको सम्पादनको काम चलिरहेको निर्माता सेनले जानकारी दिएका हुन् ।

उनका अनुसार ३ दिनअघि मात्र फिल्मको रिसुट गर्नका लागि टिम मुस्ताङ पुगेको थियो ।

केही दृश्य पुनः छायांकन गरेर टिम फर्किएको थियो ।

अहिलेसम्म फिल्मको ट्रेलर सार्वजनिक गरिएको छैन ।

निर्माता सन्तोष सेनका अनुसार फिल्मको ट्रेलर नयाँ प्रदर्शन मितिसँगै केही हप्तापछि माहोल हेरेर सार्वजनिक गरिनेछ ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा अभिनेता प्रदीप खड्का र नवअभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशीर राणालगायतका कलाकारहरूको अभिनय छ ।

डेढ सय वर्ष अगाडिको कथामा आधारित भएको फिल्मको छयांकन ४० प्रतिशत काठमाडौंमा र बाँकी ६० प्रतिशत सम्पूर्ण दृश्य मनाङमा गरिएको हो ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।

Loading...