‘ए मेरो हजुर ४’ को छायांकन रोकियो

विराटनगर, ७ चैत । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुने निर्णय गरे पछि उक्त निर्णयको पालना गर्दै फिल्मको छायांकन स्थगित गरिएको निर्देशक झरना थापाले जानकारी दिएकी हुन् ।

फिल्मको छायांकनको लागि झण्डै १०० जनाको समूह चाहिने भएकोले छायांकन स्थगित गरिएको हो ।

फिल्मका निर्माता सुनिलकुमार थापाले पनि आफ्नो फेसबुकमा तस्बिर सेयर गर्दै कोरोना संक्रमण जोखिम घटाउने उपाय सामाजिक दूरी पनि भएकोले फिल्मको छायांकन स्थगित गरेको जानकारी दिएका छन् ।

संक्रमणको त्रास हटेपछि चाँडै आफ्नो कार्यमा लाग्ने पनि उनले जानकारी गराएका छन् ।

हालसम्म चलचित्रको ४० प्रतिशत छायांकन सकिएको छ ।

पोखरामा छायांकन सक्काएर फिल्मको टिम ललितपुर आइपुगेको छ ।

वैशाख १० सम्म चलचित्रको छायांकन सक्काउने लक्ष्य राखेको ४५ दिने सेड्यूल अब सरकारले अर्को निर्णय नगर्दासम्मको लागि सर्ने भएको हो ।

Loading...