भारततर्फ सीमा ‘सिल’ गर्न प्रस्ताव, जवाफ आउन बाँकी, ७२ घण्टामै ५० शय्याको अस्पताल

काठमाडौं, ७ चैत । कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि ‘सिल गर्ने’ सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल भारत खुला सीमाबारे थप गम्भीर हुनुपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा जवाफ आइनसकेको बताए । ‘नेपाल र भारत दुवैतर्फ स्थिति भलनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ, मन्त्री ज्ञवालीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो तयारीलाई जारी राखेको छ । उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न सबै उपय अवलम्बन गरिएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

चिकित्सकले पनि कोरोना भाइरस नभित्रिएकाले आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । प्रदेश सरकारलाई आवश्यक आइसोलेसन बेड तयारी अवस्थामा राख्न उच्च स्तरीय समन्वय समितिले निर्देशन दिइसकेको छ । प्रदेश सरकारहरूले पनि आइसोलेसन बेड बनाउने कार्यलाई अघि बढाइसकेका छन् । राजधानी दैनिकमा खबर छ ।

सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन्। गत आइतबार सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए।

राष्ट्र एवं सरकार प्रमुखले सहकार्यको बाचा गरेको एक साता पुग्नै लाग्दा पनि कुनै तयारी अघि नबढेपछि प्रधानमन्त्री ओली सक्रिय भएका हुन्। उनले यसको तयारीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग जानकारी मागेका छन्।

छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको यो युद्ध सँगै लडेर दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनुपर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा सबैले सहकार्य गर्ने बाचा गरेका थिए। भिडियो कन्फरेन्सपछि परराष्ट्र सचिव स्तरमा लगातार छलफल गर्ने भनिएको थियो। तर यसबारे कुनै कार्य अघि बढ्न सकेको छैन। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन् ।

७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बेडको एचडीयू सेवा पनि सञ्चालन हुन्छ, त्यसको काम जारी छ,’ उनले भनिन्, ‘जनरल वार्ड सञ्चालनमा आएलगत्तै विशिष्ट उपचार कक्ष पनि तयार हुनेछ ।’

आईसीयू, एचडीयू र जनरल वार्डका लागि चाहिने औजार उपकरण यहीँका अस्पतालबाट झिकाइएको महानगरले जनाएको छ । ‘भवन हामीसँग तयारै थियो । बेड र अन्य औजार उपकरण सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज, क्यान्सर अस्पतालबाट जुटाएका हौं,’ दाहालले भनिन् । उनका अनुसार अस्पताल सञ्चालनको जिम्मेवारी महानगरले लिनेछ भने संघीय सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको समन्वयमा खर्च व्यवस्थापन हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...