प्रदेशमा बन्यो ४४० बेडको क्वारेन्टाइन, ५० शय्याको आइसोलेशन वार्ड बनाउने सरकारको तयारी

विराटनगर ,७ चैत । आज विराटनगरबाट प्रकाशन भएका सबैजसो पत्रपत्रिकाले प्रदेश १ का ३ स्थानमा निर्माण भएका क्वारेन्टाइनको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

प्रदेश १ सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको टाँडीस्थित नेपाली सेनाको सुर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा २००, उदयपुरको कटारीमा २०० र झापाको भद्रपु्रमा ४० बेट क्षमताको क्वारेन्टाइनस्थल निर्माण गरेको हो । हाम्रोमत दैनिकमा खबर छ ।

प्रदेश १ सरकारले अलग्गै स्थानमा न्यूनतम ५० बेडको आइसोलेसन वार्ड निर्माण गर्ने गृहकार्य सुरु गरेको खबर उद्घोष दैनिकले पहिलो पृष्ठमा छापेको छ । हाल प्रदेश सरकारले आइसोलेसन बनाउने स्थलको पहिचान गरिरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

उद्घोष दैनिकमानै महानगगरको ब्रुमर थन्किएको समाचार पनि पहिलो पृष्ठमा प्रकाशित छ । किनेर लामो समय थन्किएको ब्रुमर केही दिन सञ्चालन भएपछि बिग्रिएर ग्यारेजमा थन्किएको छ । महानगरले सो ब्रुमर २०७५ सालमा ५५ लाख रुपैयाँमा खरिद गरेको थियो ।

महशुल नतिरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका दुई ठुला उद्योगमा काटिएको लाइन २४ घण्टा नबित्दै जोडिएको खबर हाम्रोमत दैनिकमा छापिएको छ । बक्यौता महशुल नतिरेको भन्दै लाईन काटेको विद्युत प्राधिकरणले पुनः बिना शर्त लाईन सुचारु गरेको खबरमा उल्लेख छ ।

र कोरोना भाइरसको संक्रमणबाट बच्न प्रदेश १ को संसद बैठक स्थगित भएको खबर पनि आजका स्थानीय पत्रपत्रिकाको प्राथमिकतामा छन् । विहीबार बैठक बसेर सदन अनिश्चित कालकालागि स्थगित भएको हो ।

Loading...