अन्तर कलेज फुटबलको उपाधि निहारिकालाई

विराटनगर, ६ चैत । निहारिका कलेज विराटनरगले अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ३–१ गोलमा पराजित गर्दै निहारिकाले उपाधि जितेको हो ।

जितसँगै नगद १ लाख ११ हजार रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको ग्रिनल्याण्डले ७५ हजार रुपैयाँमै चित्त बुझायो ।

निकै कडा प्रतिष्पर्धात्मक रहेको खेलमा निहारिकाले पाएको अवसरलाई सदुपयोग गर्न सफल भयो भने ग्रिनल्याण्डले पाएका केही अवसर चुकाउँदा हार व्यहोर्नु प¥यो ।

खेलको ११ औं मिनेटमा निहारिकाका पृथ्वी चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा निहारिकाका रविन राईले गोल थपे लगत्तै पुनः रविन राईले गोल थप्दै ३–० को अग्रता बनाए ।

७२ औं मिनेटमा ग्रिनल्याण्डका लागि सञ्जय धिमालले गोल गरे । खेलको म्यान अफ द म्याच निहारिकाका सूर्य थापा भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

विराट बुद्ध स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी निहारिकाका रविन राईले नगद १५ हजार रुपैयाँका प्राप्त गरे । उत्कृष्ट गोलरक्षक निहारिकाका प्रमोजय चौधरीले नगद १० हजार प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट डिफेन्स निहारिकाका झमक मगर र उत्कृष्ट मिडफिल्ड ग्रिनल्याण्डका मनिष थापाले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अनुशासित टिमको पुरस्कार पथरीको रेडस्टार माविले प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव वसन्त अर्याल, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, क्लबका अध्यक्ष रोहित कोइरालालगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विराटनगरका ग्रिनल्याण्ड, निहारिका, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, पथरीको रेडस्टार मावि, रंगेलीको जनप्रिय मावि र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको थियो ।

Loading...