कोरोना रोकथाम प्रभावकारी बनाउन सामाजिक विकास समितिबाट सरकारलाई निर्देशन

विराटनगर, ६ चैत । एक नम्बर प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारलाई आवश्यक निर्देशन गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेका कामहरूको अनुगमन गरेपछि प्रदेश संसदको सामाजिक विकास समितिले बिहीबार बैठक बसेर थप व्यवस्था र आवश्यक सुधारका लागि निर्देशन गरेको हो ।

सामाजिक विकास समिति सभापति सरिता थापा (खड्का) का अनुसार सीमा नाकाको चेकजाँचमा थप उच्चसर्तकता अपनाउन, कोरोना चेकजाँचमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीहरूलाई आवश्यक पोशाक र उपकरणहरू उपलब्ध गराएर मनोबल उच्च बनाउन अनि कोरोना रोकथामका लागि अभाव भएको बजेट तुरुन्त उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन गरेको छ ।

सामाजिक विकास समितिले बिहीबार नै विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र विराट मेडिकल कलेज टिचिङ अस्पतालमा पुगेर त्यहाँको आइसोलेसन बेडबारे जानकारी लिएको थियो ।

Loading...