पर्यटक आउन छाडे, व्यवसायीलाई ऋणको चिन्ता

विराटनगर, ६ चैत । कोरोना भाइरसको प्रभावका कारण प्रदेश १ का पर्यटकीय क्षेत्रमा आगन्तुकहरूको संख्या घटेको छ ।

चीनको बुहानसहरबाट फैलिएपछि विश्वव्यापी रूप लिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदेश १ का पर्यटकीय क्षेत्र सुनसान छन् ।

भेडेटार, धरान, चतरा, इलाम, कोशी टप्पूलगायत पर्यटकीय क्षेत्रमा सुनसान छन् ।

कोरोना भाइसका कारण पर्यटकीय क्षेत्रका होटलसँगै होमस्टे पनि खाली छन् ।

आन्तरिक पर्यटकको घुइँचो लाग्ने धनकुटाको भेडेटार सुनसान छ ।

‘ग्राहक आउँदैनन्, बैंकको ऋण तिर्न समस्या भयो,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्, ‘भेडेटारमा दैनिक ५ हजार पर्यटक आउँथे, अहिले सुनसान जस्तै छ ।’

भेडेटारका होटलहरूमा भएका बुकिङ पनि रद्द हुन थालेको राईले बताए ।

चियाको राजधानी भनेर चिनिने इलाम, कोशी टप्पु, चतरामा पनि आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ ।

इलामको कन्याम आउने पर्यटकहरूको संख्या पनि घटेको छ ।

भारतको दार्जेलिङसँग सीमा जोडिएको पशुपति नगरको नाका पनि बन्द भएपछि पर्यटकहरू घटेको होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरीले बताए ।

सामान्य अवस्थामा कन्याममा यतिबेला पिकनिक खाने आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड हुन्थ्यो । तर पछिल्लो समय सुनसान छ ।

प्रदेश १ को पर्यटकीय गन्तब्य कोशी टप्पुमा पनि पर्यटकको संख्या घटेको छ ।

दैनिक पाँच सय हाराहार पर्यटक आएपनि पछिल्लो समय भने संख्या घटेको होटल व्यवसायी सुभाष भुजेल बताउँछन् ।

कोरोना कारण होटल व्यावसायमा मन्दी छाएपनि भेडेटारका व्यवसायीलाई बैंकको ऋण तिर्न समस्या भएको अध्यक्ष राई बताउँछन् ।

धेरै होटल बैंकको ऋण लिएर खुलेको बताउँदै उनले भने, ‘ग्राहक छैनन्, बैंकको किस्ता तिर्न समस्या छ ।’

Loading...