कोरोनालाई नियन्त्रण गर्न फ्रान्सलाई सघाउँदै चीन

एजेन्सी, ६ चैत । कोरोना भाइरसको संक्रमणको विश्वव्यापी फैलिने क्रम बढ्दै जाँदा चीन विभिन्न राष्ट्रहरूलाई भाइरसको नियन्त्रणमा सघाउन अगाडि बढेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको आतंकलाई नियन्त्रणमा लिएको चीनले अब संसारलाई सघाउनका लागि आफ्नो पाइला चालेको हो ।

कोरोनाको इपिसेन्टर चीनबाट यूरोपतिर सरेकोले अहिले सिंगो यूरोप नै कोरोनाको संकटमा देखिन्छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीरूलाई मास्कको अभाव देखिएको भन्दै चीन सरकारले फ्रान्सलाई १० लाख मास्क दानस्वरुप पठाएको छ ।

चीन सरकारले १० लाख मास्कसहित अन्य स्वास्थ्य सामग्री चिनियाँ अनलाइन मार्केटिङ कम्पनी अलिबाबामार्फत कार्गो विमानबाट पठाएको फ्रान्सस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

चीनले पठाएको स्वास्थ्य सामग्रीहरूमा मास्क, सर्जिकल मास्क, प्रोटेक्टिभ सुटलगायतका सामग्री रहेको दूतावासले जनाएको हो ।

चीनमा कोरोना भाइरसको तीव्र संक्रमण भइरेको बेला फ्रान्सले चीनलाई १७ टन विभिन्न चिकित्सकीय सामग्री सहयोगस्वरुप वुहान पठाएको थियो ।

Loading...