कोरोनाको आशंका गरिएका एक बिरामीले अस्पतालको सातौं तलाबाट हामफाले

एजेन्सी, ६ चैत । कोरोनाको संक्रमण भएको आशंका गरिएका एक बिरामीले दिल्लीको सफदरगञ्ज अस्पतालमा आत्महत्या गरेका छन् ।

अस्ट्रेलियाको सिड्नीबाट फर्किएका ३५ वर्षीय व्यक्तिलाई कोरोनाको आशंका गरेर क्वारेन्टाइनमा राखिएका बेला अस्पतालको सातौं तलाबाट हामफालेर आत्महत्या गरेको भारतीय मिडियाले जनाएको छ ।

अस्पतालका एक अधिकारीले नाम न छाप्ने शर्तमा उक्त व्यक्ति भाइरसबाट संक्रमित भएको शंका गरिएको थियो । तर, उनमा रोग भएको वा नभएको पुष्टि हुन सकेको छैन ।

उनका नमूनाहरू संकलन गरिएको छ, तर नतिजा अझै नआएको उनले बताएका हुन् ।

दक्षिण–पूर्व दिल्लीमा कार्यरत डीएसपी डिफेन्डर आर्यका अनुसार ती व्यक्ति पञ्जाबको शहीद भगत सिंह नगर जिल्लाका स्थायी बासिन्दा हुन् र एक वर्षदेखि सिड्नीमा थिए ।

उक्त व्यक्ति एयर इण्डियाको उडानबाट इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए ।

उनले टाउको दुखाइको गुनासो गरेपछि उनलाई बुधबार साँझ ९ बजे सफदरगञ्ज अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई सफदरगञ्ज अस्पतालको सुपर स्पेशलिटी ब्लकमा भर्ना गरिएको थियो र सातौं तलामा राखिएको थियो ।

उक्त व्यक्तिले अस्पतालमा भर्ना भएको केही मिनेटमा नै हामफालेर उनको मृत्यु भएको थियो ।

उक्त व्यक्तिको पेशा, पारिवारिक पृष्ठभूमि र कुन परिस्थितिमा उनी भारत फर्केका थिए भन्ने कुरा थाहा पाउन पुलिसले उनको परिवारसँग कुराकानी गर्न सकेको छैन ।

Loading...