पत्रपत्रिकामा देश : १५ एयरलाइन्सको उडान रोकिने, यी हुन उडान रोक्ने कम्पनीहरु

विराटनगर । सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपटि उडान रोकिन लागेको हो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदशेी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल विहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म संचालन हुँदै आएको छ ।

आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ ।

युरोप जोड्ने टर्किज एयरलाइन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याँथे ड्रागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार विहानदेखि उडान रोकिने भएको छ ।

त्यस्तै मध्यपूर्वका उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् ।

Loading...