हेभी मेकअपले निम्त्याउँछ छाला रोग

विराटनगर, ५ चैत । आजकल विशेषगरी महिलाहरूलाई जहाँ जाँदा पनि हेभी मेकअप गरेर जानुपर्ने आवश्यक ठान्छन् ।

घरमा मेकअपको ज्ञान नभएपनि पार्टीहरूमा जानुअघि महिला तथा पुरुषहरूसमेत ब्युटी पार्लर गएर महँगो पैसा खर्च गरेर मेकअप गराइरहेका हुन्छन् ।

मेकअप गर्दा कुन समानको कति प्रयोग गर्ने, कसरी गर्ने, कुन तरिकाले गर्ने र कुन ब्राण्डको गर्ने विषयले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

हेभी मेकअप गर्नका लागि सामान पनि धेरै नै चाहिन्छ ।

फेसवास, क्लिनर, टोनर, क्रिम जस्ता अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृतिअनुसार विचार गरेर किन्नु पर्छ ।

कम गुणस्तरका तथा म्याद गुज्रेका सामग्रीको प्रयोगले छालामा विभिन्न प्रकारको असर देखाउन थाल्छ ।

मेकअप गरेर राम्री हुने सोच कहिले फेरिएर मेकअपले कुरुपसमेत बनाउन सक्छ ।

मेकअपको सामग्रीहरूमा पाइने विभिन्न केमिकल सबैको छालामा सुट गर्छ भन्ने हुँदैन ।

मेकअपको सामग्री सुट गर्न नगर्दा छालामा एलर्जी हुने, अनुहार पोल्ने, रातो हुने तथा संक्रमण गराउन सक्छ ।

मेकअप गर्दा सानो कुराको ध्यान नदिँदा पनि छालामा विभिन्न संक्रमण हुने सम्भावना बढ्दै जान्छ ।

हेभी मेकअपमा पाइने बढी केमिकल, अल्कोहल र सुगन्ध भएको प्रोडक्टले छालालाई छिट्टै असर गर्छ र यसको असर केही वर्ष भित्रनै देखिन थाल्छ ।

दैनिक हेभी मेकअप गरेको खण्डमा हाम्रो छालाको रौँ छिद्रहरू बन्द भइ अनुहारमा दाग, पिम्पल, कालो पोतो, चाया तथा अनुहारलाई चाउरीसमेत पार्न सक्छ ।

साथै, दैनिक गरिने हेभी मेकअपले छालाको क्यान्सरसमेत निम्त्याउन सक्छ ।

मेकअप गर्ने बानी भए सुत्नुअघि राम्रोसँग मुख धुन आवश्यक हुन्छ ।

त्यसैले मेकअपका सामग्री किन्दा आफ्नो अनुहारमा सुट गर्ने, गुणस्तर भएको राम्रो सामानहरू किनेर प्रयोग गर्नुपर्छ ।

Loading...