प्रदेशसभामा सांसदहरूको आवाज

नेपाली कागज र कपडा प्रयोग गर्ने नीति बनाउने, अस्पतालको अधुरो भवन निर्माण सम्पन्न गराउने, विद्युत्तीकरणमा काठे पोलको प्रयोग हटाउनेदेखि सबै यातायात कार्यालयबाट लाइसेन्स दिनुपर्ने माग

विराटनगर, ५ चैत । एक नम्बर प्रदेशसभा सांसद उत्तम बस्नेतले नेपालमै उत्पादन हुने नेपाली कागज र कपडाको प्रयोग बढाउने नीति निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

आज बुधबार एक नम्बर प्रदेशसभाको पाँचौ अधिवेशनको २१औं बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले नेपालमै उत्पादन हुने कपडा र कागजको प्रयोग बढाउनसके लाखौँले रोजगारी पाउनसक्ने भन्दै नीति बनाउन प्रदेश सरकारसँग माग गरेका हुन् ।

सांसद बस्नेतका अनुसार नेपाली वनस्पतीहरूबाट उत्पादन हुने नेपाली कागज उद्योगमा हाल ४० हजारले रोजगारी पाइरहेको र सरकारले सरकारी निकाय र विद्यालयमा अनिवार्य नेपाली कागज प्रयोग गर्नुपर्ने नीति बनाएमा लाखौँले रोजगारी प्राप्त गर्न सक्ने बताए ।

उनले अल्लोबाट उत्पादन हुने कपडाहरू प्रयोग गर्ने नीति भएमा झन् रोजगारी वृद्धि हुने नेपाली अर्थतन्त्र आत्मनिर्भर बन्ने दाबी गरे ।

एक नम्बर प्रदेशको सबैभन्दा दुर्गम जिल्ला सोलुखुम्बुबाट नेकपाको तर्फबाट निर्वाचित सांसद बस्नेतले भने, ‘सबैभन्दा धेरै नेपाली कागज र कपडा उत्पादन हुने बस्पतीको मनग्य खेती गरेर उत्पादन बढाउन सकिन्छ भने युवाहरूलाई ऋण काढेर विदेश किन पठाउने ?’

बुधबारको बैठकको शून्य समयमा बोल्दै झापाका सांसद ओमप्रकाश सरावागीले भद्रपुरस्थित मेची अस्पतालमा साढे २० करोडको लागतमा निर्माणाधीन नयाँ भवन बजेट अभावमा अझै अधुरो रहेकोबारे सरकारको ध्यान आर्कषण गराए ।

उनका अनुसार २०७४ सालमा सम्झौता भएर २०७६ मा सम्पन्न हुनुपर्ने आठ वटा ब्लक भएको भवन बजेट अभावमा ४० प्रतिशत मात्र निर्माण भएको छ ।

सांसद सरावागीले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र नेकपाका नेताहरू केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा शिलान्यास गरेको भद्रपुरस्थित स्वर्गीय गिरिजाप्रसाद भवन पनि अझै अधुरो रहेको जानकारी गराए ।

सरकारको ध्यान आर्कषण गराउँदै सांसद सरावागीले भने, ‘तामझाम साथ उद्घाटन भएको भवन अझै ४० प्रतिशत निर्माण हुन बाँकी छ मैले पटक–पटक संसदमा आवाज उठाउँदै आएको छु, सरकारको ध्यान जाओस् ।’

शून्य समयमै सांसद खिनुलङवा लिम्बूले विद्युत्तीकरणमा अझै काठका पोलहरू प्रयोग भैरहेकोले त्यसलाई पूर्ण रूपमा निरुत्साहित गर्न आग्रह गरिन् । सांसद लिम्बूले विद्युत्तीकरणमा काठको पोल प्रयोग गर्दा वनजंगल मासिने भएकोले स्टिलको पोलहरूको प्रयोगलाई प्रोत्साहन गर्न माग गरिन् ।

सांसद बिमल कार्कीले अझै पनि सीमिति ठाउँबाट मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण भइरहेकोले जनताले सास्ती पाइरहेकोले त्यसलाई अन्त्य गर्न माग गरे । सांसद कार्कीले एक नम्बर प्रदेशका सबै सेवा कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था चाँडो मिलाउन सरकारसँग आग्रह गरे ।

सांसद कार्कीका अनुसार अझै एक नम्बर प्रदेशमा सुनसरीको इटहरी र झापाको बिर्तामोडस्थित यातायात कार्यालयबाट मात्र सवारी लाइसेन्स वितरण भइरहेको छ । प्रदेश सरकारले इलाम, धनकुटा, उदयपुर र विराटनगरमा सेवा कार्यालय विस्तार गरेपनि लाइसेन्स भने वितरण गराउने गरेको छैन ।

आज बुधबार सम्पन्न प्रदेशसभा बैठकमा उद्योग वन वातावरण समिति सभापति सीता थेबेले प्रदेशको वन वातारणसम्बन्धी विधेयकको दफावार छलफलको प्रतिवेदन संसदमा प्रस्तुत गरेकी थिइन् ।

Loading...