कालोबजारी रोक्न बस्नेतको आग्रह

भक्तपुर, ५ चैत । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी नियन्त्रण गर्न उनले आग्रह गरे ।

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरमा मङ्गलबार भएको छलफलमा सांसद बस्नेतले जिल्लाका चारवटै नगरपालिकामा तत्काल विपद व्यवस्थापन समितिको बैठक राखेर कारोनाको सम्भावित विपद्को पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । यसका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैको सक्रियता आवश्यक रहेको उनले बताए ।

वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले अहिले देशमा कालोबजारी बढेको बताउँदै सामाजिक सञ्जाल र फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गर्दै आतङ्क फैलिएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । रासस

Loading...