सौराहामा ३५ करोड लगानीमा सिटीहल

चितवन, ५ चैत । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताए । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए ।

सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण शुरु गरेको हो । रासस

Loading...