पेट्रोलियम पदार्थको सहज आयात : भण्डारण नगर्न आग्रह

विराटनगर, ५ चैत । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले उपभोक्तालाई पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । बजारमा आएको हल्लाको पछि लागेर तेल नपाइने डरमा भण्डारण आवस्यक नरहेको एशोसिएसनले विज्ञप्ति मार्फत जनाएको हो ।

कोरोना भाइरसको कारण नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले अनुरोध गरेको छ ।

विज्ञप्तिमा प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति भइरहेको जनाएइएको छ ।

भारतीय सीमानाकाबाट सहजरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्राको पेट्रोलियम खरिद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ ।

यसक्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण सहजरूपमा हुने विज्ञप्तिमा जनाएको छ ।

Loading...